जनकपुरधाम, ३१ जेठ । नेकपा (माओवादी केन्द्र)का नेता रामकुमार शर्माले सर्वोच्च अदालतबाट नागरिकता विधेयक सम्बन्धि आदेश अविलम्ब नआए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।
नागरिकता सम्बन्धि आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला आउनुपर्ने शर्माले माग गरेका हुन् ।
बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता शर्माले नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिएका छन् ।
नेपालको संविधान २०७२ जारी भएको करिव ८ वर्ष भइसकेको र संविधान जारी भएको मितिले ३ वर्ष भित्र संघीय संसदबाट कानुन बनाएर पूर्णरूपमा कार्यान्वयन गरिने भनिएपनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने उनले बताए ।
नागरिकता विधेयक संघिय संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दा समेत अनेक बहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आइरहेको उनको आरोप छ ।
शर्माले भने, ‘संविधान बमोजिम नागरिकता पाउन योग्य १० लाख भन्दा बढी नेपाली यूवाको पीडालाई आत्मसात गर्दै जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण भयो र गृह मन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित गर्यो । तर, षड्यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनकैलागि सर्वोच्च अदालतमार्फत षड्यन्त्र सुरु भएको छ ।’
शर्माले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए ।


