जनकपुरधाम, ३१ जेठ । जनकपुरधाममा बुधबारदेखि अत्याधुनिक मंगलम् डायग्नोष्टिक ल्याब सञ्चालनमा ल्याइएको छ ।
प्याथोलोजी क्षेत्रमा विगत लामो समयदेखि मधेस प्रदेशको आर्थिक राजधानी वीरगञ्जमा सेवा प्रदान गर्दै आएको मंगलम् डायग्नोष्टिकले जनकपुरधाममा आफ्नो दोस्रो शाखा विस्तार गरेको हो ।
२७ वर्षदेखि यस क्षेत्रमा अनुभव संगालेका वरिष्ठ प्याथोलोजिष्ट प्रा.डा. अमरनाथ ठाकुरले मंगलम् डायग्नोष्टिक ल्याब सञ्चालनमा ल्याएका हुन् । जनकपुरधामको हस्पिटल रोडमा सञ्चालनमा ल्याइएको उक्त ल्याबको बुधबार एक समारोहकाबीच जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले उदघाट्न गरेका छन् ।
महोत्तरीको जलेश्वर घर भएका डा. ठाकुले आफ्नो जन्मभूमिमा जनसेवाको उद्देश्यले आधुनिक ल्याब सञ्चालनमा ल्याएको बताए । उनले जनकपुरधाममा न्युनतम शुल्कमा गुणस्तरीय जाँच गरिने बताए । ३ करोडको लागतमा सो डायग्नोष्टिक ल्याब सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
उनले भने, ‘मंगलम् डायग्नोष्टिक सेन्टर प्रा. लि. उपत्यका बाहिर पहिलो अन्तर्राष्ट्रिय स्तरिय स्वास्थ्य परीक्षण प्रयोगशाला स्थापना भई सफलतापूर्वक विगत ९ वर्षदेखि निरन्तर अविछिन्न रुपमा सेवाग्राही तथा चिकित्सक समुदायको माग पूरा गर्दै आईरहेको छ । अब हामी जनकपुरधाम आसपासका जनसमुदायलाई हाम्रो विश्वस्तरीय सेवाहरुवाट लाभान्वित गराउन शाखा विस्तार गरेका छौं ।’
स्वास्थ्य परिक्षणमा विश्वकै नविनतम प्रविधिहरुको प्रयोगबाट गुणस्तरीय निदानात्मक नतिजाहरु निकाल्न सफल तथा डेंगु, औलो, कालाजार हैजा जस्ता रोगहरुको महामारी समयमै पता लगाई जिल्ला जनस्वास्थ्य कार्यालयमा तथ्याङ्क उपलब्ध गराई महामारी नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको तथा देशमै पहिलो पटक कोरोनाको ब्लाक फंगस प्याथोलोजिकल प्रमाणित गरि जिल्ला जनस्वास्थ्यलाई अवगत गराएको जानकारी गराउँदै उनले आम सर्वसाधारण नागरिकलाई स्तरीय स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराउन तथा असाध्य रोग लागेका विरामीहरुको लागि स्वास्थ्य परिक्षण शुल्क बजार मुल्य भन्दा कम तथा डिस्काउन्ट कार्डको व्यवस्थाबाट यस क्षेत्रका जनतालाई लाभान्वित गराउने प्रयत्न गर्ने जानकारी दिए । साथै मंगलम् डायग्नोष्टिकले विश्वस्तरीय स्वास्थ्य परिक्षणका लागि परिक्षणका भिन्न विधाका विषेशज्ञ, दक्ष अनुभवि तथा व्यवसायिक जनस्वास्थ्य व्यक्तित्वहरुबाट सेवा प्रदान गरिरहेको उनले बताए ।
उनले यहाँ नविनतम परीक्षणको व्यापकता, न्यूनतम समयमा नतिजा, प्रतिस्पर्धी न्यून शुल्क, मनमोहक मैत्रीपूर्ण वातावरण, पारदर्शी कार्यप्रणाली र पुर्ण वातानुकुलित तथा संक्रमण रहित जांच कक्षहरुसमेत रहेको जानकारी दिए ।


