कर्णालीले जित्यो महेन्द्र नारायण निधि टी–२० को उपाधि


जनकपुरधाम, २६ जेठ । जनकपुरधाममा जारी महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कर्णाली प्रदेशले कब्जा जमाएको छ । शुक्रबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले हराउँदै कर्णालीले पहिलो पटक राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

जनकपुरधाम–१४ रजौलमा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा भएको प्रतियोगिताको फाइनलमा झण्डै ५ वर्षदेखि राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको कर्णालीले ३ विभागीय टोली सहभागी नहुँदाको फाइदा उठाएको छ ।

कर्णालीले जितका लागि सुदूरपश्चिमलाई १४१ रनको लक्ष्य दिएको थियो । १४२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम कर्णालीका बलरसामु टिक्न नसकी ८९ रनमा अल आउट भयो ।

सुदूरका लागि कप्तान नारायण जोशीले १५ रन जोडे । अन्तिम विकेटका रुपमा नारायण जोशीलाई १८.१ ओभरमा प्रकाश जैशीले क्याच आउट गराउँदै टिमको पहिलो उपाधि पक्का गरे । कर्णालीका लागि युनिश विक्रम सिंहले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । कर्णालीका लागि ओपनर रविन्द्र जंग शाहीले २७ बलमा २१ रन बनाए । उनीपछिका ओपनर दिवान पुन डकआउट भए ।

अर्जुन घर्ती पनि डक आउट भएपश्चात कर्णालीको अवस्था कमजोर बनेको थियो । तर, त्यसपछि ब्याटिङका लागि आएका दिपेन्द्र रावतले ५० बलमा ४९ रन बनाए । हिमान्सु शाहीले २१ बलमा २५ रन बनाए । कर्णालीका लागि विपिन रावलले पछिल्लो ओभरमा आक्रामक खेल प्रदर्शन गरे । उनले १३ बलमा ३ चौका र १ छक्का सहित २४ रन बनाए । प्रकाश जैशी शुन्य र दिनेश अधिकारी ११ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि नरेन साउद र कप्तान नारायण जोशीले समान २–२ विकेट लिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार