एनआरटीमाथि पुलिसको रोमाञ्चक जित


काठमाडौं, १८ जेठ । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) माथि १–० को रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा मोसेसले खेलको ७९ औं मिनेटमा गरेको गोल निर्णायक बन्दा पुलिसले एनआरटीमाथि रोमाञ्चक जित निकाल्न सफल भएको हो ।

निकै रोमाञ्चक बनेको खेलमा रवी पासवानले उपलब्ध गराएको पासलाई मोसेसले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए । यसअघि दुवै टोलीले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए ।

२०औं मिनेटमा कृतिशरत्न छुन्जूको प्रहारलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाए । ३०औं मिनेटमा निकोलस सङ्गको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा एनआरटीले अग्रता लिने सुनौलो अवसर गुमायो ।

दोस्रो हाफमा फरक रणनीति सहित आक्रामक खेल देखाएको पुलिसले अग्रता लिएसँगै एनआरटीलाई दबाबमा राख्दै खेलेको थियो । ७९औं मिनेटको अग्रता पछि १० मिनेट पछि सौजन राईको कर्नरमा अन्जन राईको हेडरबल बारमा लागेर बाहिरिँदा पुलिसको अग्रता अवसर खेर गएको थियो ।

इज्जुरी समयमा कप्तान विक्रम धिमालले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेपछि एनआरटी १० खेलाडीमा समेटिए पनि बाँकी समयमा थप गोल हुन सकेन र पुलिसले स्पष्ट तीन अंक तालिकामा जोड्न सफल भयो । यससँगै पुलिस लिगमा एनआरटीबिरुद्ध अपराजित रह्यो ।

यी दुईबीचको पहिलो भेट १–१ को बराबरीमा सकिएको थियो । बिहीवारको जितसँगै पुलिसले २३ खेलमा ३४ अकं जोड्न सफल भएको छ । पुलिस चौथो स्थानमा कायमै छ । पराजय व्यहोरेको एनआरटी २३ खेलमा २९ अंकका साथ नवौं स्थानमा छ ।

लिग अन्तर्गत बिहीवार नै च्यासल मैदानमा सम्पन्न खेलमा फ्रेण्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले स्पष्ट अंकका लागि आक्रामक खेल खेल खेले पनि अवसरलाई सदुपयोग गर्न चुकेका थिए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार