मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र झालाई दिइने


काठमाडौं, ३० बैशाख । मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार, २०८० राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाको वैशाख २९ गते बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले उक्त पुरस्कार आगामी जेठ २० गते वितरण गरिने जानकारी दिए । गत वर्ष २०७९ को पुरस्कार गोरखापत्र संस्थानका नायव कार्यकारी सम्पादक एवं नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्वअध्यक्ष कुमार विवेकानन्द मिश्रालाई प्रदान गरिएको थियो ।

रौतहटबाट प्रसारण हुने रेडियो मधेस मसलाका स्टेसन म्यानेजर एवं जनकपुर टुडेका रौतहट समाचारदाताका रुपमा काम गर्दै आएका पत्रकार मनोज चौधरीको ०७८ वैशाख २९ गते ४१ वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको थियो ।

गरुडा नगरपालिका–४ बस्ने चौधरीको एक छोरा र एक छोरी छन् भने श्रीमती पुनमकुमारी चौधरी सोही पालिकाकी उपप्रमुख हुन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार