काठमाडौं, २५ बैशाख । गायक तथा अभिनेता यश कुमारले काठमाडौँमा कन्सट गर्ने भएका छन् । उनले बुधबार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा ब्यान्डसहित लाइभ कन्सर्ट गर्न लागेका हुन् ।
बुधबार साँझ आयोजना हुने कन्सर्टमा यशले ब्यान्डसहित आफ्ना चर्चित नयाँ–पुराना दर्जन गीत गाउनेछन् । कन्सर्टमा यशले म कहिले हाँसेको थिएँ, तिम्रो मन बदलिएछ, बिरानो यो मन्दिरमा, हिजो अर्कैसँग देखेँ, म आफ्नै आँगनमा इनार बनाउँछु, तिमीलाई कुनै पललगायत आफ्नो चर्चित गीतहरु गाउने आलिशानका सञ्चालक राम थापाले जानकारी दिए ।
कन्सर्टमा आलिशान ब्यान्डले प्रारम्भिक प्रस्तुति दिने तय छ । त्यसपछि मात्रै यश स्टेजमा उक्लिनेछन् । यशकुमारले नयाँ गति ‘गल्ली’ केही महिना अगाडि सार्वजनिक गरेका थिए ।
गीतमा उनलाई मेचु धिमालले साथ दिएकी थिइन् । शब्द तथा संगीत समेत उनकै रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका थिए । भिडियोमा रेश्मा घिमिरे र आइशु बराइलीलगायत कलाकारको अभिनय थियो ।


