जनकपुरधाम, १६ बैशाख । शहीद अथवा कुनै साहित्यकारलाई विवादको विषय बनाएर समाजलाई आपसमै जुधाउने काम नगर्न आग्रह गरिएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य उमेशकुमार मण्डलले जनकपुरधाममा आदिकवि भानुभक्त आचार्यको शालिक बनाउने विषयमा विवाद भए निर्माण कार्य तत्काल स्थगित गरी आपसी सहमति खोज्न सुझाब दिएका हुन् ।
‘कुनै शालिक बनाउने विषयमा यदि यस्तो विवाद छ वा समाजमा विभाजन अथवा द्वन्द्व आउने स्थिति छ भने त्यस्तो अवस्थामा त्यस्ता निर्माण कार्य तत्काल स्थगित गरी आपसी सहमति खोज्नु नै उचित हुनेछ, ‘उनले भने ।
नेता मण्डलले जानकी नवमीको अवसर पारेर यस्तो विवाद गराउनु पछाडिको मनसायबारेसमेत सचेत हुनु जरुरी रहेको बताए । उनले यसले राम्रो परिणाम नदिने बताए ।
उनले भने, ‘जनकपुरधाम उपमहानगरपालिकाको अगाडि धेरै जरुरी कामहरु छन् । फोहोरका डुंगुर स्वास्थ्य र पवित्रताको निमित्त अभिशाप नै हो । भएका सडकहरु दिनानुदिन अव्यवस्थित भइरहेका छन् । सडक अहिले बालुवा, गिट्टी र फोहोरको कन्टेनर भएको छ । नगरभित्र ट्राफिकको उपस्थिति नगन्य देखिन्छ । डीजेको प्रदूषणले रातभरि सुत्न नसकी नगरवासी त्रसित छन् । यतातिर ध्यान जाओस् भन्ने हाम्रो चाहना छ ।’


