काठमाडौं, ५ बैशाख । एसिसी प्रिमियर कप अन्तर्गतको मंगलबार भएको खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
हङकङका लागि बाबर हायातले ९४ बलमा १०८ रनको शतकीय योगदान पारी खेले । उनले १० चौका र ६ छक्का प्रहार गरे । त्यस्तै, निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय योगदान गरे ।सिंगापुरका लागि आरित्रदत्त र रमेश कालिमुथुले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ दशमलव १ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो । सिंगापुरका लागि आरित्र दक्तले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ५७ बलमा ९ चौका प्रहार गरे ।
यसैगरी आर्यन मोदीले २१, रमेश कालीमुथुले १८, थिलिपन अमाइदुराइ र अभी दीक्षितले समान १२ तथा सुरेन्द्रन चन्द्रमोहन र प्रशिन परमले समान १०/१० रन जोडे ।
हङकङका लागि एहसान खानले चार विकेट लिए भने यासिम मूर्ताजाले तीन विकेट झारे । त्यसैगरी मोहम्मद घनजफर, अइजाज खान र आयुष शुक्लाले समान एक/एक विकेट लिए ।


