काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताएका छन् ।
सत्ता गठबन्धनसम्बद्ध दलहरूले तनहुँको दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन सरकारलाई पाँच वर्ष टिकाएर जानसके जनतामा सकारात्मक सन्देश प्रवाह हुने बताए ।
सरकारलाई निरन्तरता दिएर पाँच वर्ष जनताका पक्षमा काम गर्नुपर्ने बताउँदै उनले भने,’जनतालाई परिणाम दिनुपर्छ, तर जुन गतिमा हामी हिँडिरहेका छौँ त्यो गतिले देशको समृद्धिको लक्ष्य पूरा गर्न सकिँदैन ।’ महामन्त्री थापाले अहिलेको परिस्थितिका कारण एउटै दलको बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको धारणा राखे ।
देशको विकासका लागि प्रधानमन्त्री, मन्त्रीदेखि तल्लो तहका सरकारसम्मका प्रतिनिधिले देशमा महाविपत्ति आइरहेको छ भन्ने सोचेर काम गर्नुपर्ने उनले सुझाव दिए । ’रातदिन काम गर्नुपर्ने अवस्था आएको छ, छिटो छिटो परिणाम दिने गरी काम गर्नुपर्छ, केन्द्र, प्रदेश र स्थानीय तहको सरकारको लय मिल्नुपर्छ । तब मात्र परिणाम आउँछ,’ थापाले भने ।
खर्च घटाउँदै आम्दानी बढाउने स्रोतको खोजी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउँदै महामन्त्री थापाले जनतामा विश्वास जागृत गराउन मिटरब्याज पीडितको समस्या सम्बोधन, समयमै मल ल्याउने व्यवस्था सरकारले गर्नुपर्ने बताए ।


