–नित्यानन्द मण्डल
जनकपुरधाम, २ बैशाख । नयाँ बर्षसँगै सल्हेश पुजाको उल्लासमा डुबेको छ, मधेश । भनिन्छ, सल्हेस दुसाध (पासमान)का जातीय देवता तथा मिथिलाका लोक देवता हुन् ।उनी वीरता, पौरख, साहसिक,पराक्रर्मी, लोकतान्त्रिक योद्धा र प्रेमका प्रतिमूर्तिका रुपमा चिनिन्छ । उनले जनताका गुहार, गुनासो, दुःख, पीडामात्रै सुन्दैनथे त्यसका निदान,निरुपणका लागि पनि अघि सर्दथे ।
जनताका तमाम अर्तनाद,छटपटी,पीडा, कलेशबाट मूक्ति, उन्मूक्ति दिलाउँथे, आफ्ना सीमाका रक्षा गर्दथे । बैशाख १ र २ गते दुई दिनसम्म चल्ने सल्हेस जयन्तीका अवसरमा धनुषा, सिरहा, सप्तरी, महोत्तरी सहित दुसाध जाति(पासवान) बहुल गाउँहरूमा सल्हेस जयन्तीको रौनक हेर्नलायक छ ।
सल्हेसको चर्चा हुने वित्तिकै दुसाधको चर्चा हुनु र दुसाध जातिको चर्चा हुने वित्तिकै उनीहरुको बहुल रहेको गाउँ धनुषाको अकौरा, झिझा र सर्लाहीमै झिझाका पासवानहरुले पूनर्वास गरेको टोल झिझेली टोलको परिचर्चा हुनु अस्वाभाविक होइन ।
जाउँ है घुम्न अकौरा
हाम्रो गाउँ बहुअर्वा र अकौरा अल्लोपल्लो छिमेकी गाउँ हो । एकै सीमा, एकै चौरीमा पर्दछ । त्यसैले, सानैदेखि त्यहाँका राजनीति, समाज, दुसाध जाति आदि विषयमा धेरै सुनिएको, थोरै देखिएको र केहि पढिएका कुरा यहाँ उल्लेख गर्नु प्रसांगिक देखिन्छ ।
हो, भनिरहनु पर्दैन्,कुनैबेला ‘चोरको वस्ती’का रूपमा बदनाम धनुषाको झिंझा र अकौरा गाउँले आफ्नो छवि उजिल्याउँदै लगेका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाम भन्दा ६ किमि पूर्वमा पर्ने नगराईन–८ साबिक देवडिहा–२ र ३ स्थित नेपाल–भारत सीमामा पर्ने गाउँ हो अकौरा । कुनै बेला कुख्यात ‘चोर र डाँकाको अड्डा’ का रूपमा चिनिन्थ्यो, सुरक्षाकर्मी समेत गाउँ छिर्न हच्किन्थे । यहाँका कूल ४०० मध्ये १३५ घरधूरी पासवान जाति मुख्य रूपमा चोरी पेशामा संलग्न थिए ।

विदेह नगरपालिकाको झिझा पनि भारतीय सीमापर्ने नेपालको पासमान बहुल गाउँ हो । झिझामा पनि झन्डै सय घरधुरी दुसाधको बसोबास छ । नरहिया र कपटौल गाउँपनि दुसाधबहुल गाउँ हुन् । यी गाउँहरुमा पनि अकौराका पासवानहरुको नाता कुटुम्ब छन् । २५ बर्ष अघिसम्म यी गाउँका पुरुषको मुख्य पेसा नै युवावस्थामा चोरी र प्रौढमा धानचामल र नगद गाउँलेहरुबाट लिएर गाउँ रखबारी (चौकीदारी, पहरेदारी) गर्नु हुन्थ्यो । दुसाधले पहरेदारी गरेको, रखबारी लिएको गाउँमा सामान्यतया चोरी–डकैती हुँदैनथ्यो ।
अकौरा—हेर्दा स्यानो गाउँ वा टोल नै भन्दा अतिशयोक्ति नहोला। तर यसले कमाएको ख्याति, आयातन र उँचाईले मधेश र उत्तरी सीमावर्ती भारत विहारलाई समेत हल्लाई राख्ने दुसाध बहुल गाउँ हो, यो। चोरी—डकैती पेशामा संलग्न सरदारहरुको नाउँ नै सुन्दा सात्तो जाने तर आजभोलि तिनीहरु पनि सामाजिक, राजनीतिक आवरणमा आफ्ना सादगीपूर्ण जीवन यापन गर्न थालेका छन् ।
अकौराका आका कुञ्जा पासमान
कुनैबेला चोरी पेशालाई त्याग्दै साधु बनेका थिए—कुञ्जा पासवान । उनी बलिया, परोपकारी र धर्मकर्ममा विश्वास राख्थे । उनमा दया, परोपकार र करुणाका भाव थियो । उनी सडक, पुलपुलेसा बनाउँथे । उनी धनीको घरमा मात्र चोरी गर्दथे, धेरै नै बलिया र आँटिला थिए । र, त धेरै आदरका साथ अहिले पनि उनको नाम लिने गरिन्छ । उनका विरासत बोकेका अकौराका पासवानले पुख्र्याेली परम्परागत चोरी पेशा अँगाले ।
उनलाई सबैले बाबा अथार्त् हजुरबुवा भनेर सम्बोधन र सम्मान गर्छन् । उनलाई अकौराका आदर्शका रुपमा लिने गरिन्छ । यिनकै सखा सन्तानहरुको नामै सुन्दा अचम्म लाग्न सक्छ, मुटुको धडकन बढ्न सक्दछ । डरले शरीर काम्न सक्छ । जस्तै—बघबा,लतरा,चन्दरा कति छन् कति। यिनकै दोस्रा तथा तेस्रा पुस्ताका केवल पासवान, जोगी पासवान उपप्रधानपञ्चदेखि गाविस उपाध्यक्ष समेत बने । झगरु,बेचन पासवान त बाबाजी नै बने ।
डाँका, डकैतीका किस्सा कति छन् कति । चोरलाई च्याप्पै समात्न खोज्दा कट्टु मात्रै लगाएर कन्दनी समेत नलगाएकाले कम्मरमाथि नाङ्गै रहेको चोर खाने तेल घसेकोले उम्केको पनि सुनियो । यिनै र यस्तै केहि प्रसँग यहाँ उल्लेख गर्नु समिचिन हुनेछ ।
चोरी डकैतिका किस्सा
प्रसँग १— यहाँकानामी डाका कुञ्जा पासवानले आफ्नै खर्चमा बहुअर्वा अकौरा जोड्ने पैनीमा “भमरा पुल” समेत बनाएका थिए ।
प्रसँग २—२०३६ सालतिर बहुअर्वाका प्रधानपञ्च मुखिया साहेबले चिनिने जानकी प्रसाद मण्डलले बनाएका दाहा मेलामा हात्तीमा चढेर कुञ्जा पासवानले पैसा लुटाए । धनीमानीको घरबाट लुटेर ल्याएका पैसा लुटाएर आफ्नो शक्ति प्रदर्शन गरिरहँदा कपिलेश्वर महुआका हेमशंकर गिरीले पेस्तौल तेर्साए । यतिकैमा बहुअर्वाकै समाजसेवी जिबछ मररले मित यहाँ मेलामा बबाल भैहाल्छ, अफरातफरी मच्चिन सक्दछ भन्दै गोली नचलाउन आग्रह गरे । भनिन्छ, गिरीलाई त्यतिबेला सातखुन माफको सहुलियत तत्कालिन सरकारबाट पाएका थिए रे ।
प्रसँग ३—एकचोटी काठमाण्डौका जेलबाट कुञ्जा पासवान हातमा हत्कडी, नेल लिएर नै जेलबाट फरार भएका थिए ।पैदलले गाउँ आइपुगेका यहाँका बुढापाका बताउँछन् ।
प्रसँग ४— छिमेकी गाउँका हँसेरीले झण्डै धारिलो हतियारले परसादी पासवानको टाउको नै क्षतविक्षत बनादिएका थिए ।उनको परिवारको सबैको मन धुजाधुजा थियो । बाँच्ने आश नै थिएन ।संयोगले नै मृत्यूको मुखबाट फर्केका उनी त कुनैबेला नेकपा एमाले नेतृ जुली महत्तोकै राजनीति कमान सम्हालेका थिए । तर, यसबर्षको चुनावमा उनी काँग्रेसी बने ।
प्रसँग ५—कुनैबेला उपद्रवीका संज्ञा पाएका श्री नरारायण भनिने शिरीया र राजकिशोर भनिने कोकबा दाईभाईका जोडी पनि अतुल्य छ । एकपल्ट त देवडिहा प्रहरीका प्रमुख परमानन्दले त यी दाजुभाइलाई अर्धनग्न गरेर नै निर्ममतापूर्वक कुटपिट गरेका थिए ।
प्रसँग ६—अकौरा र बहुअर्वा जोडिने भमरापुल वरपर नै प्रहरीको राइफलको निसानामा करिया पासवान परे । उनले प्रहरी उपर नै थ्री नेट थ्री तर्साउँदा जवाफी फायरिंगमा उनी ठहरै भए ।
प्रसँग ७—बृक्षा, महेन्द्रले भारत विहारमै अकालमै ज्यान गुमाए । भारतमै एउटा भठ्ठीमै खानपान गरिरहेका भोला पासवान र नागे पासवान मारिए ।स्थानीय प्रसादी पासवानले भारतीय प्रहरीले अनेकौं निर्दोषलाई समेत हत्या गरेको आरोप लगाउँछन् । स्थानीयले जागेका एउटा खुट्टा मर्काएदिएपछि अर्का खुट्टाले साइकल चलाएको भेटिन्थे ।
प्रसँग ८— २०४२ मा भारतीय प्रहरीको सहयोगमा सीमावर्ती भारतीय क्षेत्रमा अकौराका २ युवकको हत्या र २ लाई पक्राउ गरिएको थियो । बदलामा अकौराका पासमानले पनि ४ भारतीयको टाउको नै छिनालेरभारतीय हरलाखी प्रहरी कार्यालय नजिकै फालिदिएका थिए । त्यस घटनाको भोलिपल्ट नै बहुअर्वाका मुखिआ जानकी प्रसाद स्वास्थ्य चेकअपका लागि दरभंगा गइरहेकाबेला उनलाई नै हरिने हरलाखी क्षेत्रका जनताले खुबै केरकार गरेको सुनिन्छ । त्यहाँका आक्रोशित स्थानीयले उनीसँगै भएका नेवि मण्डल, रामसोगारथ मण्डल र उनी उपर नै झम्टिने प्रहार गरिरहँदा हरलाखी प्रहरीले उनीहरुको ज्यान जोगाएका थिए ।
यसलाई स्मरण गर्दै तत्कालीन गाउँ पञ्चायतका प्रमुख तथा नगराईन नगरपालिकाका निवर्तमान मेयर परमेश्वर यादवले भने, ‘घटनाले गाउँमा एक वर्षभन्दा बढी समयसम्म देखि त्रास थियो । नेपाल प्रहरीले छापा मारेको र भारतीय प्रहरीले डाँकाको खोजीमा हाम्रो गाउँमा आक्रमण गर्ने तयारी गरेको हल्लाले हामी निरन्तर भयाक्रान्त वातावरणमा बाँचिरहेका थियौं ।”
प्रसँग ९— पासवानहरुको कहालीलाग्दो ताण्डवबाट उव्रिन त्यतिञ्जेलका छिमेकी गाउँटोलबासीले पुरै टोललाई नै आगोका लप्काले खरानी बनाईदिए । तीनका घरमा भएका बस्तुजात, पशुपंक्षी, झ्याल ढोका, चौकी, पलंग पनि चौगम्माका हँसेरीले लगे । यसरी करिब २देखि३ पटकसम्मगैर पासवान समाजले पूरै टोलमा नै आगो लगाएर जलाइदिएको सुनिन्छ ।पुरुषहरु सबै भगाभाग, महिलाहरुमा रुवावासी । महिनौंसम्म घरपरिवार विहिन उनीहरुले दुःखजिलो जीवन विताए ।
प्रसँग १०—वृक्षा, भोला, नागे, जयनाथ लगायत ३० जना त विहारका प्रहरुी तथा समाजको तगारोमा ज्यान गुमाए । करिया लगायतले नेपालकै भूमिमा पनि करिब ५ जनाले आफ्नो ज्यान दाउमा लगाएर मृत्युवरण गरे । ज्यानको बाजी थाप्ने त कति छन् कति ।
प्रसँग ११—२ देखि ३ पटकसम्म धेर थोर परिमाणमा घरेलु हातहतियार भाला गराँस,क्रिच, दविया आदि तथा आधुनिक हातहतियार नलकटुआ, थ्री नट थ्री, सिक्सर, भरुवा ईत्यादी बुझाएर आत्मसम्पर्ण पनि गरे । त्यतिखेरका जिल्लाका प्रहरी प्रमुख, नेपाली काँग्रेसका प्रभावशाली नेता स्मृति नारायण चौधरी र समाजका अगाडि श्री बासुदेव मावि बहुअर्वाका प्राङ्गणमा नै गरेका हातहतियार सहित आत्म समर्पण गरेका थिए ।

प्रसँग १२—पञ्चायतकालमा स्थानीय प्रहरी प्रशासन अकौरा र झिझाका दुसाधलाई प्रयोग गरेर बहुदल समर्थकको हत्यासम्म भएको घटना बुढापाकाले सुनाउँछन् । भारतको जयनगर, मधुवनी प्रवासमा रही लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएका नेपाली कांग्रेसका नेता सरोजप्रसाद कोइरालाको मधुवनीमा हत्या गर्दा झिझाका डाँका खटाइएको भनिन्छ । अजोदी र सोगारथलाई जेलबाट छाडेर जनकपुरका तत्कालीन अञ्चलाधीश लीलाराज विष्टको आदेशमा जयनगरमा कांग्रेस नेता सरोज कोइरालाको हत्या गर्न पठाइएको सुनिन्थ्यो ।
यस्ता निकै नै चर्चित नामहरु थिए जो समाज र प्रशासनका लागि टाउको दुखाई हुने गर्दथ्यो । उनीहरुको नामै सुनेर मानिस थर्कमान हुन्थे । डरले राति निदाउँदैनथे । उनीहरु अत्यन्तै हिम्मतिला, फुर्तिला, साहसी, चम्बु, लुत्ती थिए ।
चोरी एक कला
भनिन्छ, चोरी गर्नु एक प्रकारको कला नै हो । घरका मानिसहरूजागेका भएपनि चोर्न सक्नु उनीहरूको विशेषता हो ।गाउँमा पुगेर चोरी गर्ने गिरोहमध्येका एकजनाले नै चोर चोर भन्दा सुतिरहेका कोहि सडकमा एक्कासी आउँदा उनकै कञ्चटमा पेस्तोल तेर्साएर मार्नेधम्की दिएपछि आफूखुशी तिनका घरमा चोर्न पाउँथे ।
औंसीको रातमा डकैती वा चोरीका लागि सुन्दर साइत मानिन्छ । यसलाई अन्हरिआ अर्थात प्रहरीबाट लाइन क्लियरको संकेत उनीहरुले पाउँथे रे । पञ्चयातकालमा प्रहरी र पासवानको मिलिभगतमै घटनाहरु हुने गर्दथे ।
वरपरका गाउँ सहरका घरमा दुलो (सेंन्ह) खनेर अन्न, भाँडावर्तन, लत्ताकपडा र गरगहना चोरी भएका घटनामा आरोप दुसाधलाई नै खेप्नुपर्दथ्यो । यिनीहरुको पनि एउटा खास तौरतरिका हुन्थ्यो । पुजापाठ सलामी चढाएर नै चोरी गर्नका लागि “जतरा” गर्थे । सल्हेश महराज र घरका कुलदेवीदेवतालाई नै सुपारी सलामी दिएर शुभ सायतमा चोरी गर्नलाई कम्मर कस्थे । उनीहरु कन्ट्रयाक्ट क्लिरको रुपमा पनि सुपारी लिन्थे ।
उनीहरु अकौरा वरिपरिका खेतको आलीमै सेन (सुरुङ) खनेर छिर्ने–निस्किने अभ्यास गरिरहेका हुन्थे । भनिन्छ, चोरहरू सेन काटेर चोरी गर्दा पहिला खुट्टा छिराएर घरभित्र छिर्ने रहेछन् । पहिल्यै टाउको छिराउँदा घरवालाले जागेपछि सुरुङको पुछारमा ढुकेर बसी घाँटी छप्काइदिने जोखिम हुने भएकाले पहिले खुट्टा नै छिराउने रहेछ । औंसीको वेला चोरी, डकैती, लुटपाटका लागि टाढा–टाढा जाने अकौरा झिझाका पासवानहरुले पुर्णिमासम्म चोरेर ल्याएका रेडियो–क्यासेट प्लेयर, घडी, साइकल, गरगहना बेच्न गाउँतिर पनि छिर्थे ।
पासवान जातिका महिलाहरुले गरगहना, भाडाबर्तन छेउछाउका गाउँहरुमा महिलाहरुसँग चोरीका समान बेच्ने गर्दथे ।कहिलेकाहिं ती समान बेच्ने महिलाहरुले नै समान बेचेका घरमा कहाँ के छ भनेरसुराकीका काम पनि गर्दथे । चोरीका माल बेचेर मोजमस्तीमा सकाएपछि ती गाउँमै चोर्न छिर्छन् भन्ने चर्चा खुबै हुन्थ्यो । पर्वतिहारकावेला खसी–बोका जोगाउने चिन्ताफिकिर गाउँवासीमा हुन्थ्यो । यातायातको सुविधा नपुगेका, राज्य(पुलिस) को पहुँचभन्दा परका बस्तीका सम्पन्न परिवार नै डाँकाको निसानामा पर्थे । चोरी बहुत हुन्थ्यो । कुखुरा, खसी–बाख्रा, अन्नदेखि यदाकदा बयल चोरीका वारदात भैरहन्थे ।
चोरी अचाक्ली बढ्दा गाउँकै हुँदाखाने दुई–चारजनाको समूह रातभर खबरदारी गर्न परिचालन गरिन्थ्यो, घरधुरी पैसा संकलन गरी पारिश्रमिक दिने गरी । त्यस्ता समूह ‘खबरदार खबरदार’जागेर सुत्नु भनी चिच्याउँदै रातभर गाउँमा गस्ती गर्थे ।

पासवान र पञ्चायत
पञ्चायत व्यवस्थाप्रति पासवानहरुको गहिरो आकर्षण थियो । पञ्चायत शासनअन्तर्गतको प्रहरी प्रशासनले बहुदलीय प्रजातन्त्रलाई समर्थन गर्ने मानिसहरूलाई धम्की दिन दुसाध प्रयोग गरेको धेरै उदाहरण छन्। सरकारी अधिकारीहरूले पनि सरकारको निहित स्वार्थका लागि हतियार र गोलाबारुद उपलब्ध गराएको बताइन्छ ।
पञ्चायतकालमा स्थानीय प्रहरी प्रशासन अकौरा र झिझाका दुसाधलाई प्रयोग गरेर बहुदल समर्थकको हत्यासम्म भएको घटना बुढापाकाले सुनाउँछन् । भारतको जयनगर, मधुवनी प्रवासमा रही लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएका नेपाली कांग्रेसका नेता सरोजप्रसाद कोइरालाको मधुवनीमा हत्या गर्दा झिझाका डाँका खटाइएको भनिन्छ ।
झिंझाका युवा चोरी–डकैतीमा जाँदा अवरोध भए हत्यासम्म गर्न पछि पर्दैनथे । चोरीबाट आक्रान्त आसपासका बासिन्दाको आग्रहमा २०३५ मा धनुषाका नेताहरूले झिझाका पासवान समुदायलाई अन्यत्र सार्ने विकल्प अघि सारे । यो विकल्पमा उनीहरू सहमत पनि भए पनि बाँके, बर्दिया सर्न तयार भएनन् ।
नाताकुटुम्ब सबै छुट्ने भएकाले उनीहरूले धनुषा वरिपरिकै स्थानमा बस्न महेश्वरप्रसाद सिंह, जिवछ छिटान, भोला झा लगायतका नेताहरूलाई आग्रह गरेपछि राज्यले नेत्रगञ्जमा ४१६ विघा जग्गा दिएको थियो– प्रत्येक परिवारलाई घडेरीका लागि ५ र खेतीपाती गर्न ३५ कट्ठाका दरले । उनीहरूले १८ महिनाका लागि रासन समेत पाएका थिए । जङ्गल क्षेत्र रहेको जग्गालाई उनीहरूले विस्तारै खेतीयोग्य बनाए ।
त्यसबखत झिंजालीहरू धनुषाको राजनीतिमा हेमबहादुर मल्लको भोटबैंक रहेकाले तिनकै जोडबलमा पुनर्वासमा जग्गा पाएको सुनिन्थ्यो । अहिले बुझ्दा अञ्चलाधीश विष्टकै पहलमा राजा वीरेन्द्र क्षेत्रीय भ्रमणका क्रममा हेटौंडामा रहँदा बिन्तीपत्र सदर गराई जग्गा पाएको बताइन्छ । सुरुमा बर्दियामा हरपरिवारलाई चार बिघा जग्गा अफर गरिएको थियो रे, झिंजालीले बरु थोरै होस, जनकपुर अञ्चलभित्रै होस् भने ।पुनर्वासको लालचमा अकौराका पासमानहरुले अञ्लाधीशको रोहबरमा ४७ थान हातहतियार समेत बुझाए । सर्लाहीको सागरनाथ वन नजिक जग्गा पनि हेरे तर आजसम्म पुनर्वास हुन सकेका छैनन् ।
अकौराका पासवानहरु भन्छन्, ‘हाम्रो सरदार (प्रमुख) को पहुँच त्यसबेलाका एसपी, डीएसपी र अञ्चलाधीशहरूको बैठक कोठासम्मै हुन्थ्यो ।’“हाम्रा सरदार ृप्रमुखले प्रत्येक महिना घुस दिएपछि तत्कालीन प्रहरी उपरीक्षक, डीएसपी र अञ्चल प्रमुखहरूको बैठकमा पहुँच राख्ने गर्थे,“ स्थानीय सुनाउँछन् । यसलाई अन्हरिआ झोला अर्थात प्रहरीबाट लाइन क्लियरको संकेत उनीहरुले पाउँथे रे ।
राजनीतिक आवरण
डकैतीबाट निवृत्त भैसकेका नामुद पूर्वसरदारहरू फरक–फरक पार्टीका थिए । कहिले बघबा त कहिले लतरा, कहिले परसादी कहिले केवल त कहिले जोगी त कहिले कोकबा सिरिया त कहिले नागे त कहिले भोला । गाउँमा सरदारकै ‘तुती’बोल्थ्यो ।
चुनावमा सरदारलाई हात लिएपछि टोलको भोट झिरिप्पै आउँथ्यो ।सरदारहरू फरक कित्तामा उभिए भोट बाँडिन्थ्यो । जस्तो–केवल एकातिर हुन्छ भने प्रसादी अर्कातिर भइदिन्छ । दुई गुटबीच बेलाबखतमा खुनी झडप पनि हुँदै गर्छन् । त्यसैले जसको पक्षमा पासवानहरु हुन्थे, तिनले चाहिँ देवडिहाका प्रधानपञ्च अथवा गाविस अध्यक्ष हुन्थे चाहे त्यो परेमश्वर यादव मुखिया जी होस् की कृष्णचन्द्र यादव भुपुजी किन नहोस् ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि अकौराका पासवानहरु नेपाली कांग्रेस, एमालेतिर लागे । राजभक्त र पञ्चायतका हतियार तिनको राप्रपातिर बिरलै आकर्षण देखियो । धेरथोरै मात्र राप्रपा थिए ।सशस्त्र विद्रोहकालमा पनि सम्भवतः नेकपा माओवादीमा सायदै कोही लागेका होलान् ।
पञ्चायतकालमा शक्तिकेन्द्रको संरक्षण पाएका अकौराका पासवानलाई बहुदल झन् फाप्यो, अब आफ्नो संगठित शक्ति अरूका लागि भोटबैंक मात्र हुन दिएनन् ।दोस्रो स्थानीय चुनाव (०५४) मा जोगी पासवान देवडिहा गाविसका उपाध्यक्षमा जिते । त्यस्तै पञ्चायतकालमै केवल पासवान पनि उपप्रधानपञ्च भए ।
यद्धपि, वार्डअध्यक्ष वा नगर प्रमुखका जिम्मेवारी भने पाउन सकेका छैनन् । तर, भोटकाबेला मेयरदेखि माननीय सम्मको गिद्धे नजर अकौराका पासवान टोलमा हुन्छ । उनीहरुले पैसाको भेल नै चुनावमा बगाइदिन्छ रे ।

बदलिँदो परिदृश्य
प्रजातन्त्र पूनस्र्थापनापछि वातावरण फेरिए । माओवादी जनयुद्ध,तराई मधेशमा सशस्त्र समूहको विगविगी, सिसि क्यामेरा जडान, मोबाइल लगायतका सूचना प्रविधिको दिनानूदिन बढ्दो प्रयोग तथा तीव्र विकासले उनीहरुको धाक रबाफमा ह्रास आयो ।
सीमामा एसएसवी र सशस्त्र प्रहरी तैनाथ गरिपछि ईलम नै धरापमा पर्याे । अनि उनीहरु पनि विदेशलाई नै सुरक्षित आर्थिक लाभको गनतव्य ठाने र लागे विदेश । कमाएर ठोके पक्की घर । स—साना खुद्रा व्यापारी बने, पसल थापे । अनि त ससाना व्यावधान वाहेक आरामदायी जीन्दगानी नै छ उनीहरुको । यद्धपि, कर्जाको बोझ, जीवन गुजार्न, हातमुख जोर्न, औषधी मुलो र विहेवारीका लागि महाजनका मुख ताक्नुपर्ने स्थिति अझै कम भएको छैन् । पति विहानै घर फिर्ने महिलाहरुको रात्रीकालिन चिन्ता सधैंका लागि दुर भएको छ ।
वस्तुतः अहिले जनजीवन समान्य छ।सामाजिक प्रतिष्ठा आर्जनमा ओर्लिएका छन् उनीहरु । तर, उनीहरुले राज्य र सरकारबाट त केहि पाएनन् । न,त पाए पूर्नवास न त पाए उल्लेख्य संख्यामा रोजगारी नै । एक एकाध व्यक्ति अमिन, प्रधानाध्यापक, स्वास्थ्यकर्मी, ओभरसियर र झण्डै ४, ५ जना असईदेखि लिएर प्रहरी जवान गरी ३५ जना प्रहरी सेवा, कतिपय व्यक्ति कोतबाली गर्दै आएका छन् । प्रहरी सेवामा हुनेहरुले त पहाडका चेली पनि विहे गर्न थालेका छन् । लगभग १० जोडी पनि त्यस्ता होलान् । यी नै मध्येका जनस्वास्थ्य कार्यालयबाट अवकास पाएका नाति चाहिँ अमेरिकामा छन् ।
पुराना पहिलो पुस्ता छँदैछैन् । दोस्रो पुस्ताका सरदारहरू नै डकैतीबाट सुस्ताइसकेका छन् । तेस्रो पुस्ता नै चोरी, डकैतीबाट अलग भए । चौथो पुस्तासम्म आइपुग्दा त करिब–करिब सबैजसोले पुस्तैनी पेसा परित्याग गरिसकेका छन् ।
अब यस्तै एकाध जेलमा सजाय काटिरहेका छन् । फरार भई गाउँमै नदेखिएका फाट्फुट एकाध पुस्तैनी पेसामै रहेका हुन सक्छन् । प्रायसः सबै खेतीपातीमा रमाइरहेका छन् । अकौराका पासवानहरूको जीवनशैली, सामाजिक प्रतिष्ठा र आर्थिक अवस्थामा उल्लेख्य सुधार भएको छ ।

र, अन्त्यमा
यसरी सामाजिक, राजनीतिक वातावरणमा पासा पल्टिए पनि साँस्कृतिक अक्षुण्नता कायमै राखेका अष्टाबक्र र सूर्य पुजनका स्थलीका रुपमा परिचित अक्रपुर अर्थात् अकौरामा रहेका अकौरा ठाकुर महराज, अकौरा ठाकुर पञ्चसरोबरि पोखरी र सल्हेशको दर्शन पुजन गर्न जाऊँ है अकौरा । यहाँहोम स्टे, कुञ्जा पासवानको स्मारक निर्माण तथा अध्ययन अनुसन्धानका लागि पहलकदमी, शिक्षा, रोजगारमा तीनै तहका सरकरले ध्यान दिनु जरुरी छ । तसर्थ, घुम्न जाऊ है देवडिहाका ठामठाम, अकौरागाम ।


