विराटनगर, २५ चैत । विभागीय टोली आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
शनिबार लिग चरणमा सबै खेल पूरा हुँदा अंक तालिकाको आधारमा समूहमा त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन् । समूह बीमा पहिलो सुदूरपश्चिम प्रदेश र दोस्रो मधेस प्रदेश छन् ।
प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेलमा आर्मी र मधेस प्रदेश तथा दोस्रो खेलमा सुदूरपश्चिम र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलमा पराजित गरेको छ ।
सुदूरपश्चिमका दीपकराज जोशीले २ गोल, धिरेन्द्रबहादुर, शेरबहादुर चन्द र महेश नेपालीले समान १–१ गोल गरेका थिए । मधेस प्रदेशका विशला क्षेत्री, रुपक दाहाल र रुपेश राईले समान १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए ।
त्यस्तै, अर्को खेलमा गण्डकी र कर्णाली प्रदेश २–२ गोलको बराबरी खेलेर अंक बाँड्दै लिग चरणबाट बहिरिएका छन् । गण्डकीका संगम जेटी र असिम बाहेकले गोल गरे । कर्णालीका लागि जीवन राउतले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कर्णालीका जीवन राउत भए ।


