कांग्रेस महोत्तरीको पदयात्रा अभियान शनिबार सम्पन्न हुँदै


जनकपुरधाम, २४ चैत । नेपाली कांग्रेस महोत्तरीले संगठन सुदृढीकरण अभियानअन्तर्गत सुरु गरेको पदयात्रा अभियान शनिबार सम्पन्न हुन लागेको छ ।

नेपाली कांग्रेसले चैत ११ गतेदेखि मधेस प्रदेशमा ‘नेपाली कांग्रेसको सहयात्रा जनजनका लागि पदयात्रा’ भन्ने नाराका साथ पार्टीका महोत्तरी जिल्ला सभापति नागेश्वर यादवको नेतृत्वमा १५ दिने पदयात्रा अभियानको शुरुवात गरेको थियो ।

सभापति यादवको नेतृत्वमा ५० जना नेताहरुले जिल्लाको १५ वटै स्थानीय तहको १३२ वटै टोलमा पुग्ने योजना सहित खयरमाराबाट पदयात्रा आरम्भ गरेका थिए ।

पदयात्राको १४औं दिन शुक्रबार जलेश्वर नगरपालिकाका केही वडालगायत सिमरदही, बहुअर्वा, सिरसिया र धिरापुरको भ्रमण सम्पन्न भएको नेपाली कांग्रेसको स्वास्थ्य विभागका उपप्रमुख डा. सज्जन ठाकुरले जानकारी दिए ।

अभियानअन्तर्गत शनिबार १५औं तथा अन्तिम दिन जलेश्वर भ्रमण गर्नुका साथै सभाको आयोजना गरिने उनले बताए ।पार्टीका नेता कार्यकर्तामा उर्जा बढाउन, समन्वय–सहकार्य गरी नेता कार्यकर्ता तथा जनताबीच आत्मियता बढाउने उद्देश्यले पदयात्राको शुरुवात गरिएको थियो ।

महोत्तरीबाट सुरु भएको पदयात्रा मधेस प्रदेशको आठवटै जिल्लामा सुरु गरी कांग्रेसको गाँउ तहको संगठन सक्रिय बनाइने उनले बताए । महोत्तरीको पदयात्रापछि सप्तरीको कोशिदेखि पर्साको ठोरीसम्मको पदयात्रा तयारी गरिने डा. ठाकुरले जानकारी दिए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार