आज विश्व स्वास्थ्य दिवस मनाइँदै, नागरिक अझै निःशुल्क स्वास्थ्य सेवाबाट वञ्चित


काठमाडौं, २४ चैत । ‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ शुक्रबार विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।

स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनको ७५औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो ।

नेपालको संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ । यद्यपि निःशुल्क स्वास्थ्य सेवा पाउन भने नागरिकलाई सकस छ ।

संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा व्यवस्था गरेपनि नागरिकले स्वास्थ्य सम्बन्धी अधिकारको प्रत्याभूत गर्न पाएका छैनन् । सबैले सहज रुपमा गुणस्तरीय सेवा पाउनुपर्नेमा देशका अधिकांश सरकारी अस्पतालको अवस्था नाजुक छ । दुर्गम क्षेत्रका सरकारी स्वास्थ्य संस्थामा सिटामोट समेत पाउने अवस्था छैन भने शहरी क्षेत्रका अस्पतालमा समेत नागरिकले सहज रुपमा सेवा पाउन सकेका छैनन् ।
आम नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा सरकारकै हुन्छ । तर, देशभरका सरकारी स्वास्थ्य संस्थाबाट प्रवाह भइरहेको सेवासुविधा हेर्ने हो भने स्वास्थ्यमा नागरिकको पहुँच कमजोर मात्रै नभई त्यस्ता निकायमा मौलाएको वेथिती भनिसाध्य छैन् ।
सरकारी स्वास्थ्य संस्थामा ८० वटा भन्दा धेरै प्रकारका औषधि निशुल्क उपलब्ध हुने बताइएपनि देशका दुरदराजका स्वास्थ्य संस्थामा सिटामोल समेत पाउन सकिने अवस्था छैन् ।

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने वाध्यता छ । अझ ग्रामिण क्षेत्रमा बसोबास गर्ने विपन्न, अशक्त र गरीब समुदायका लागि स्वास्थ्य सेवा पहुँच भन्दा बाहिर रहेको छ ।

सरकारले सबै नागरीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेपनि प्रभावकारी नहुँदा यसको औचित्यमाथी प्रश्न उठन थालेको छ ।

सरकारी स्वास्थ्य संस्थामा सहज पहुँच नहुनु तथा नीजि अस्पतालमा चर्को शुल्कका कारण पुग्न नसक्ने अवस्थाले विपन्न ब्यक्ति उपचारकै अभावमा ज्यान गुमाउन पर्ने अवस्था रहेको सेवाग्राही बताउँछन् ।

कतै औधषी अभाव, कतै जनशक्ति उपकरण तथा पूर्वाधारको कमि तथा दरबन्दी अनुसार जनशक्ति उपलब्ध नहुँदा समेत सरकारी स्वास्थ्य संस्थामा उपचार सेवा ब्यवस्थित हुन सकेको छैन ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार