जनकपुरधाम, २२ चैत । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा भोलि (बिहीबार) देखि ‘जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’ हुन लागेको छ ।
‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगतामा कूल १२ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलस्थित निर्माणाधिन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुन लागेको छ ।
प्रतियोगितामा जनकपुरधाम, महोत्तरी र सिरहा, हेटौंडा, रौतहट र बारा, काठमाडौं, सप्तरी र पोखरा तथा विराटनगर, सर्लाही र पर्साका टिमहरुले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी टोलीलाई चार समुहमा विभाजन गरि प्रत्येक समूहमा तीन÷तीन वटा टिम राखेर लिग कम नकआउटका आधारमा टी–२० फर्म्याटमा खेलहरु सञ्चालन गरिने जिल्ला क्रिकेट संघ धनुषाले जनाएको छ ।
प्रतियोगितामा सहभागी चारवटै समूहको नामाकरण माता सीतालाई सम्बोधन गर्नेगरी जानकी, बैदेही, मैथिली र भूमिजा राखिएको छ ।
गोला प्रथाद्वारा टिमहरुको समूहगत छनोट गरिएकोमा जानकी समूहमा जनकपुरधाम, महोत्तरी र सिरहा, वैदेही समुहमा हेटौडा, रौतहट र बारा, मैथिली समूहमा काठमाण्डौं, सप्तरी र पोखरा तथा भूमिजा समूहमा विराटनगर, सर्लाही र पर्साका टिमहरुलाई समावेश गरिएको छ ।
प्रतियोगिता व्यवस्थापन अन्तर्गतका सम्पूर्ण कार्यहरुसमेत अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।
यस प्रतियोगितालाई आफूहरुले जनकपुरधाममा अन्तर्राष्ट्रिय खेल मैदान (रंगशाला) निर्माणको एक भर्याङको रुपमा लिएको प्रतियोगिता आयोजनाका अगुवा युवा सरोजकुमार मिश्रले बताए । उनले जनकपुरधामबासीलाई रंगशाला निर्माणतर्फ ध्यान केन्द्रित गर्न यस प्रतियोगताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबीसमेत गरेका छन् ।
भोलि चैत २३ गते विश्व खेल दिवस पनि परेकाले सोहि अवसरमा प्रतियोगिताको समुद्घाटन गर्न लागिएको छ ।
जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकन्त पाण्डे(गुड्डु)ले प्रतियोगिताको फाइनल खेल वैशाख १ गते हुने जानकारी दिए ।
उनले प्रतियोगिताको विजेता टिमलाई २ लाख ५१ हजार र उपविजेतालाई १ लाख ५१ हजार पुरस्कारसहित ट्रफीसमेत प्रदान गरिने बताए ।
म्यान अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार र म्यान अफ दि म्याचले ३ हजार नगद पुरस्कार पाउने छन् ।
उनले प्रतियोगितामा सम्पूर्ण जनकपुरधामबासीलाई सहभागी हुन आग्रह गरेका छन् । पाण्डेले रंगशाला निर्माणका प्रमुख अभियानी दिनेश पुर्वेले सुरू गरेको अभियानलाई उजागर गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको बताए ।
निर्माणाधिन रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको कार्यलाई गति दिनुका साथै सम्पूर्ण सरोकारवालाहरूलाई स्वामित्व ग्रहण गर्न आग्रह गर्दै उनले सबैजनालाई यसमा अगाडि आउन जरूरी रहेकोसमेत बताए ।
जनकपुरधाम उपमहानगरपालिका आयोजक रहेको यस प्रतियोगिताको संयोजन जिल्ला क्रिकेट संघ धनुषाले गरेको छ भने प्रतियोगिता आयोजनाका लागि फ्याक्ट्स नेपालले पनि सहकार्य गरेको छ ।


