काठमाडौँ, २१ चैत । आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध उजुरी दिने समय समाप्त भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि मंगलबारको समय दिएको थियो ।
चितवन निर्वाचन क्षेत्र–२, तनहुँ निर्वाचन क्षेत्र–१ र बारा निर्वाचन क्षेत्र–२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारप्रति चित्त नबुझेमा उजुरी दिन सकिने र उजुरीउपर चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
उम्मेदवारी फिर्ता लिन इच्छुकहरुका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ । आगामी बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान गराउने आयोगको तयारी छ ।


