जनकपुरबाट अनलाइन ठगीमा संलग्न २३ जना पक्राउ


जनकपुरधाम, २० चैत । धनुषा प्रहरीले अनलाइन ठगीको कारोवारमा संलग्न २३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ गरेको हो ।

उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरुले विभिन्न एपमार्फत हनिट्रैप जस्ता धन्धा गर्दै आएको डीएसपी गौतमले बताएका छन् । पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला रहेको उनले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य जारी रहेकाले विस्तृत विवरण पछि सार्वजनिक गरिने धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार