जनकपुरधाम, २० चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ को वडा कार्यालय साविककै ठाउँमा सुचारू गर्नुपर्ने माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् ।
सुरूदेखि नै बिन्धीमा रहेको जनकपुरधाम–२३ को वडा कार्यालयलाई लादोबेलामा सारेको भन्दै वडाध्यक्ष राघवेन्द्र साहविरूद्ध स्थानीय आन्दोलनमा उत्रेका हुन् ।
बिन्धीस्थित वडा कार्यालयमा वडाध्यक्ष र सचिव विगत केही दिनदेखि नबस्दा स्थानीयको कामकाज प्रभावित भएको भन्दै उनीहरूले सोमबार वडा कार्यालय सुचारू गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका छन् ।
स्थानीय चन्दन रायले साह वडाध्यक्षमा निर्वाचित भएर आएदेखि नै सो वडामा जातीय तथा क्षेत्रीय द्वन्द फैलाउनुका साथै वडाबासीहरूको ब्रेनवास गरी आपसमै मतभेद गराउन खोजेको आरोप लगाएका छन् ।
वडाध्यक्ष साहले गैरकानुनी रूपले कुनै लिखित सूचना नदिई कसैको जानकारी बिना वडा कार्यालयलाई आफू अनुकूल अन्यत्र सारेर अस्थायी वडा कार्यालय निर्माण गरी बस्दै आएको पूर्ववडाध्यक्ष शत्रुधन पाण्डेको गुनासो छ । धर्नामा बसेका उनीहरूले साविकको ठाउँमा छिटोभन्दा छिटो वडा कार्यालय सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।
साविकको ठाउँमा वडा कार्यालय चाँडै सुचारू नभए कडा रूपमा अगाडि बढ्ने बिन्धीबासीले चेतावनीसमेत दिएका छन् । वडा कार्यालय सार्ने विषयलाई लिएर बिन्धीबासीले लगातार विरोध गर्दै आएका छन् । बिन्धीमा वडा कार्यालय रहँदा सबैलाई पायक पर्ने, सबै वडाबासीहरूलाई सहज बाटोको व्यवस्था भएकोले पनि सो कार्यालय अन्यत्र सार्न नहुने स्थानीयको भनाइ छ ।
यसैबिच, जनकपुरधाम उपमहानगरपालिकाले पनि वडा नम्बर–२३ को वडा कार्यालय साविककै भवनमा सञ्चालन गर्न पत्राचार गरेपनि वडाध्यक्ष साहले उपमहानगरको निर्णयलाईसमेत अटेर गरेका छन् ।
उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले गत चैत ९ गते वडाध्यक्षलाई पत्राचार गर्दै साविकदेखि बिन्धीमा सञ्चालन हुँदै आएको वडा नम्बर–२३ को वडा कार्यालयलाई साविककै भवनमा यथाशिघ्र सञ्चालन गर्न निर्देशन दिएपनि वडाध्यक्ष साहले अटेर गरेको स्थानीयको गुनासो छ ।
वडाध्यक्ष साहले आफ्नो वडाबाट हुने कामहरू चैत ८ गतेदेखि गोविन्द सेवा समिति दुधमती पुल बेलाबाट सञ्चालन गरिरहेका छन् ।
यता, यस सम्बन्धमा वडाध्यक्ष साहले आफूले कानुनसम्मत तरिकाले वडाको काम सञ्चालन गरिरहेको दाबी गरेका छन् ।उनले बिन्धीमा वडा कार्यालयको निजी भवन नहुँदा अव्यवस्थित तरिकाले सञ्चालन भइरहेको अवस्थामा कार्य सञ्चालन गर्न असहजता उत्पन्न भएको बताए । उनले तत्कालका लागि मात्र गोविन्द सेवा समिति दुधमती पुल बेलाबाट कार्यालय सञ्चालन भइरहेको जानकारी दिए ।
उनले भने, ‘म निर्वाचित जनप्रतिनिधि हुँ, मेरो पनि केही अधिकार क्षेत्र होला । त्यसको प्रयोग मैले गर्न पाउनु पर्दछ ।’
वडाध्यक्ष साहले यसअघि दुई/दुई पटक वडा कार्यालयको निजी भवन निर्माणका लागि उपमहानगरले बजेट उपलब्ध गरएपनि पूर्ववडाध्यक्षले भवन निर्माण नगरी बजेट फ्रिज गराएको बताए ।
वडामा रहेको ९०३ नम्बर कित्ताको जग्गा अलपत्र परेको अवस्थामा भवन निर्माणका लागि ३५ लाख रुपैयाँ बोर्ड निर्णयबाट बजेट निकासा गर्न लगाएको र चाँडै भवन निर्माणको प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष साहले बताए ।
उनले यस वडामा काम गर्न असहज रहेको र हरेक कुरालाई राजनीतिक मुद्दा बनाउन खोजिएको गुनासोसमेत गरे । केही व्यक्तिहरू वडा भेलामा उपस्थित नै नभई आपसमै आन्तरिक द्वन्द्व गराउन उद्धत रहेको उनको आरोप छ ।


