काठमाडौं, १७ चैत । फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका पाँचजना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
क्रिकेट खेलमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो ।
उनीहरू पाँचैजना फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरू हुन् ।
खेलाडीहरूलाई कलेजका कार्यकारी निर्देशक लक्ष्मण पोखरेल, प्राचार्य प्रा.डा.फत्तबहादुर केसीले संयुक्त रूपमा टीका, माला तथा प्रशंसा पत्रसहित नगद पुरस्कारले सम्मान गरे ।
कार्यक्रमको अवसरमा प्राचार्य केसीले खेलाडीहरू खेलकुदका लागि मात्रै नभई असल र मेधावी विद्यार्थी भएको जानकारी गराए । उनले खेलाडीको कलेजसँगको निकटता र उच्च शिक्षाप्रतिको लगनले विद्यार्थीहरूको पहिलो रोजाइ भएको बताए ।
यस्तै निर्देशक पोखरेलले राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई उच्च शिक्षा हासिल शतप्रतिशत पूर्ण छात्रवृत्ति उपलब्ध गराएको बताए । एक शिक्षित खेलाडीले आफूलाई संस्कार र खेललाई राम्रोसँग बुझ्न सक्षम हुने बताए ।
काठमाडौँको मैतिदेवीमा रहेको उक्त कलेजले सन् २०१२ देखि नेपालमा स्नातक र स्नातकोत्तर तहका व्यवस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधि संकायका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।


