जनकपुरधाम, १७ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षा आजदेखि सुरु भएको छ । आज अनिवार्य अंग्रेजी विषयको परीक्षा देशभर शान्तिपुर्ण तरिकाबाट सम्पन्न भएको विवरणहरू प्राप्त भएका छन् ।
आज पहिलो दिनको अंग्रेजी विषयको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार देशभर २ हजार ३६ र जापानमा पनि १ परीक्षा केन्द्र छन् । रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिइरहेका छन् ।
यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेसन भर्ने विद्यार्थी ५ लाख १६ हजार ५९१ जना रहेपनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल ४ लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए ।
यस वर्ष ७ हजार २ सय सामुदायिक र ४ हजार ५६४ संस्थागत गरी ११ हजार ८२९ विद्यालय एसईईमा सहभागी भएका छन् ।
आइतबार १९ गते अनिवार्य गणित विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको एसईई परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।
मधेसमा के–के भयो ?
एसईई परीक्षाको पहिलो दिन अहिलेसम्म प्राप्त जानकारी अनुसार मधेस प्रदेशको धनुषा जिल्लामा एकजना परीक्षा निरीक्षक पक्राउ पर्नुका साथै एउटा परीक्षा केन्द्रमा ५० मिनेट ढिलो गरी परीक्षा सुरु भयो । त्यस्तै, बाराको एक परीक्षा केन्द्रबाट परीक्षा सुरू भएको १५ मिनेटभित्रै प्रश्नपत्र आउट भएको थियो ।
जिल्लाको लक्ष्मिनीयाँ गाउँपालिकाको सपहीस्थित विपि कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ परेका हुन् ।
यादवले कक्षाकोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराई आफ्नो मोबाइलमा पठाउन लगाएर विद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि पक्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
जनता आधारभूत माध्यमिक विद्यालय बनिगामा लक्ष्मिनीयाँमा शिक्षक पदमा कार्यरत यादवलाई विपि कोइराला माविको परीक्षा निरीक्षकमा खटाइएको थियो । परीक्षाको पहिलो दिन नै मर्यादाविपरीतको काम गरेपछि उनी पक्राउ परेका छन् ।
परीक्षा निरीक्षकले नै मोबाइल प्रयोग गरी वाट्सअपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उता, अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि धनुषाको औरही गाउँपालिकास्थित मा.वि.चक्कर परीक्षा केन्द्रमा ५० मिनेट ढिलो परीक्षा सुरु भएको थियो । बिहान ८ बजे सुरु हुने परीक्षा ८ बजेर ५० मिनेटमा सुरु भएको थियो ।
प्राविधिक गडबडीका कारण अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्नपत्र पाइएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिए । त्यस परीक्षा केन्द्रमा मुचुल्का गरेर ५० मिनेट ढिलो गरी पुरीक्षा सुरु गरिएको थियो ।
त्यस्तै, बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा सुरू भएलगत्तै फेसबुकमार्फत प्रश्नपत्र आउट भएको थियो ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले परीक्षा सुरू भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिर आएको बताए ।केन्द्राध्यक्ष र गार्ड बसेका शिक्षकहरूको लापरबाहीले सामाजिक सञ्जालमार्फत परीक्षार्थीले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने आशंका छ ।
प्रश्नपत्र बाहिररिएको विषयमा सोधपुछ गर्न प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बिद्यार्थीले नै प्रश्नपत्रको फोटो खिचेर बाहिर साथीहरूलाई सामाजिक सञ्जालमा पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
मधेसमा ७९ हजार ९४ परीक्षार्थी
यस वर्षको एसईई परीक्षामा मधेस प्रदेशका २७९ परीक्षा केन्द्रमार्फत ७९ हजार ९४ जना परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षाका लागि २७९ केन्द्राध्यक्ष, ५२८ सहायक केन्द्राध्यक्ष, ७९६ परीक्षा सहायक, ४ हजार ६९ जना निरीक्षक, १ हजार ६२८ कार्यालय सहायक गरी ७ हजार ५७९ कर्मचारी र तिनवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यस वर्षको एसईईमा सप्तरीमा ३६ परीक्षा केन्द्रमार्फत ९ हजार ५२७, सिरहामा ४० परीक्षा केन्द्रमार्फत १० हजार १५०, धनुषामा ४३ परीक्षा केन्द्रमार्फत १२ हजार १४६, महोत्तरीमा ३१ परीक्षा केन्द्रमार्फत ९ हजार ५४, सर्लाहीमा ३७ परीक्षा केन्द्रमार्फत १० हजार ९१६, रौतहटमा ३५ परीक्षा केन्द्रमार्फत ८ हजार ९५७, बारामा ३२ परीक्षा केन्द्रमार्फत ९ हजार १७९ र पर्सामा २५ परीक्षा केन्द्रमार्फत ९ हजार १६५ जना परीक्षार्थी सहभागी भएका छन् ।


