सहकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाही हुनुपर्ने कर्मचारी संगठनको माग


जनकपुरधाम, १६ चैत । कर्मचारीमाथि हातपात गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने माग गर्दै नेपाल विद्युत प्राधिकरण कर्मचारी संगठन आन्दोलित भएको छ ।

गत फागुन ५ गते रौतहटको मौलापुर वितरण केन्द्रका कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गर्नेलाई अझै कारबाही नगरिएको भन्दै प्राधिकरणमा आबद्ध संगठनहरू आन्दोलित भएका हुन् ।

विभिन्न चार संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाएका छन् ।

संगठनहरूले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रमा कार्यरत कर्मचारीहरूलाई स्थानीय त्रिभुवन साह, धिरज पाण्डेसहितका व्यक्तिहरूले पटकपटक गालीगलौज, हातपात एवं साङ्घातिक आक्रमण जस्ता अराजक तथा अमानवीय व्यवहार गरेकोप्रति निन्दा र भर्त्सना गरेका छन् ।

‘चरणबद्ध कार्यक्रमहरू घोषणा गरेको जानकारी गराउँदै हालसम्म पनि सम्बन्धित पक्षले दोषी उपर कानुनी कारबाही अगाडि नबढाएकोले हामी थप गम्भीर भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

विद्युत् प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय सचिव लोकेन्द्र कार्कीका अनुसार आन्दोलनका थप कार्यक्रम घोषणा भएका छन् । उनका अनुसार संगठनमा आबद्ध पदाधिकारी र सदस्यहरूले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यालयमा धर्ना दिएका छन् ।

शुक्रबारदेखि मधेस प्रदेश प्रादेशिक कार्यालयअन्तर्गका कार्यालयमा जारी रहेको आन्दोलनको कार्यक्रम यथावत् राखिने, प्राधिकरणको केन्द्रीय कार्यालयमा ट्रेड युनियनका काठमाडौंमा उपलब्ध केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूले यही चैत २० गतेसम्म बिहान साढे १० देखि साढे ११ बजेसम्म कालोपट्टि बाँधी कार्यकारी निर्देशकको कार्यकक्षमा धर्ना दिने कार्यक्रम रहेको सचिव कार्कीले जानकारी दिए ।

यो अवधिसम्म पनि दोषीमाथि कारबाही नभएमा २१ चैत बिहान १० बजेदेखि मौलापुर वितरण केन्द्रअन्तर्गत कर्मचारीलाई हातपात गर्ने गराउने व्यक्तिको क्षेत्रमा विद्युत आपूर्ति बन्द (ब्ल्याक आउट) गरिने पनि संगठनहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार