आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा


जनकपुरधाम, १६ चैत । चैत शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि जनकपुरधाम स्थित राममन्दिर, जानकी मन्दिरमा पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ ।

नवमीमा सहभागी हुन नेपाल तथा भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम स्थित राम मन्दिरमा दर्शनका लागि आएका छन् ।

त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।

आजको दिन देशभरी रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत–रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहेको छ ।

अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्र रहेका राम भगवान विष्णुको सातौँ अवतारको रुपमा जन्मेको धार्मिक ग्रन्थमा उल्लेख छ । राम मिथिलाका राजा जनकका पुत्री सीतासित विवाह गरेका थिए ।

यो पर्व चैती नवरात्रीको बीचमै परेकाले आजको दिन भगवान राम र यसका साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजाआजा गरिन्छ ।

रामनवमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा नै दिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार