काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९ दलको सहभागितामा आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
दश दलीय सत्ता गठबन्धनमा मन्त्रालयको संख्यामा सहमति जुटेकोपछि आज मन्त्रिपरिषद् विस्तार गरिने भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय संख्याबारे सैद्धान्तिक सहमति जुटेपछि मन्त्रिपरिषद् विस्तार गरिने भएको छ ।
जसपा नेपालका नेता राजेन्द्र श्रेष्ठले आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘बिहीबार बेलुका शपथ हुनेछ, जनमोर्चा बाहेक सबै दल सरकारमा जाने छन् । ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय संख्या टुङ्गो लाग्यो ।’
गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।


