एजेन्सी, १६ चैत । यशराज फिल्म्सको महत्वाकांक्षी फिल्म बताइएको ‘टाइगर भर्सेस पठान’को छायांकन आगामी वर्षको जनवरीदेखि गर्ने भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको शीर्ष भूमिकामा सलमान खान र शाहरुख खान रहनेछन् । बलिउडका यी दुई स्टारले सन् १९९५ को फिल्म ‘करण अर्जुन’मा सहकार्य गरेका थिए ।
यशराजले यस फिल्मलाई लिएर अहिले नै विस्तृत जानकारी दिएको छैन । व्यापक ढंगमा फिल्मको घोषणा गर्ने आन्तरिक तयारीमा छ । तर यो स्पाइ युनिभर्स ‘टाइगर भर्सेस पठान’को काम भने सुरु भइसकेको छ । फिल्मलाई आगामी जनवरी २०२४ मा रिलिज गर्ने योजना रहेको छ ।
हालै रिलिज भएको ‘पठान’मा पनि सलमानको विशेष भूमिका रहेको थियो । यही फिल्मबाट यशराजले हलिउड स्टुडियो शैलीलाई पछ्याउँदै स्पाइ युनिभर्स निर्माण गर्ने जनाएको हो ।
यशराज युनिभर्समा अहिलेका शक्तिशाली फ्रेन्चाइजीहरु एक था टाइगर (२०१२), टाइगर जिन्दा है (२०१७), वार (२०१९) र अब पठान जस्ता ब्लकबस्टर फिल्मको संलग्नता हुनेछ । ‘पठान’को रुपमा अब यशराजसँग भारतीय फिल्ममा सर्वाधिक कमाउने हिन्दी फिल्म समेत रहेको छ ।
यशराजको जासूस ब्रह्माण्डको टाइमलाइन सन् २०१२ देखि सुरु भयो, जब सलमान खानले ‘एक था टाइगर’मा टाइगरको रूपमा जिम्मेवारी लिए । २०१७ मा सलमानले ‘टाइगर जिन्दा है’ मा सुपर–जासूसको भूमिकामा आफुलाई पुनः प्रस्तुत गरे । २०१९ मा ऋतिक रोशनले यो युनिभर्समा सुपर–जासूस फिल्म ‘वार’बाट कबीरको रुपमा प्रवेश गरे ।


