बारा, १५ चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर–२ बाट चुनाव लड्न नेकपा माओवादी केन्द्रका एक नेता जनमत पार्टीमा प्रवेश गरेका छन् ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्रले आफूसँग जालझेल गरेर माइनस गरेकाले जनमत पार्टी रोजेको उनले बताए । आफू स्वतन्त्र भएर चुनाव लड्न खोजेपनि जनताले पार्टीबाट चुनाव लड्न आग्रह गरेकाले जनमतमा प्रवेश गरी चुनाव लड्ने तयारी गरेको नेता कुशवाहाले बताए ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी बारा–२ बाट माओवादी केन्द्रका उम्मेदवार थिए । तर, उनी तत्कालीन जसपाका उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए ।
यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।


