जनकपुरधाम, १५ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर कुमार साहले नगरभित्र ट्राफिक व्यवस्थापनका लागि धनुषा ट्राफिक निरन्तर खटिरहेको दाबी गरेका छन् ।
बुधबार धनुषाका पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा प्रहरी निरीक्षक ठाकुरले नगरभित्र अब नो पार्किङ्गमा पार्क गर्ने गाडीहरुलाई ह्विल लक लगाएर व्यवस्थापन गरिने बताएका हुन् ।
उनले जनशक्ति बढाएर रामानन्द चोक, जानकी मन्दिरलगायतका क्षेत्रमा मात्र १० जनाको संख्यामा ट्राफिक प्रहरी निरन्तर खटिरहेको जानकारी दिए ।
जनकपुरधाम प्रदेशको राजधानी भएसँगै सवारी साधनको चाप बढेकाले ट्राफिक व्यवस्थापन मुख्य चुनौती बताउँदै उनले यसलाई आफ्नो कार्यकालभर सुधार गर्ने प्रतिबद्धता जनाए ।
नागरिकहरुलाई ट्राफिक सम्बन्धी थप जनचेतना जगाउने, अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गराउने, यातायात र यात्रुको निश्चित मापदण्ड बनाई कार्यान्वयन गर्ने र सवारी आवगमनलाई चुस्त र दुरुस्त बनाउने उनले बताएका छन् ।
‘प्रदेश राजधानी भएसँगै जनकपुरधाममा सवारी व्यवस्थापनमा चुनौती छ । बजार क्षेत्रमा जथाभावी राखिएका बे्रकरलाई समेत हटाउने छु’, ट्राफिक प्रमुख साहले भने, ‘आफूलाई कानुनले दिएको अधिकारभित्र रही सवारी दुर्घटना न्यूनीकरणमा पनि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्नेछु ।’
ट्राफिक व्यवस्थापनमा ट्राफिक एक्लैले मात्र केही गर्न नसक्ने भन्दै सबैपक्षलाई साथ दिन उनले आग्रह गरे ।


