सत्ता गठबन्धनको बैठक, मन्त्रिपरिषद् विस्तार गर्ने तयारी


काठमाडौं, १५ चैत । सत्ता गठबन्धनको बैठक आज फेरीपनि बस्ने भएको छ ।

मंगलबार साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः बैठक बस्न लागेको हो ।

मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि सहमति हुन सकेन । दलहरुले आकर्षक मन्त्रालयमा आ–आफ्नो दाबी गर्न थालेपछि सहमति जुट्न सकेन ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए ।

‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ नाम दिइएको मस्यौदामा दुई शीर्षक र धेरै उपशीर्षकहरू छन् ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक भएर बनाइएको सरकारको न्यूनतम प्राथमिकतालाई सत्ता समीकरणमा भएको फेरबदलसँगै प्रधानमन्त्री प्रचण्डले सरकारका कार्यक्रमहरू पनि परिमार्जन गरेका छन् ।

अध्ययनका लागि वितरण गरिएको परिमार्जित मस्यौदाबारे आज छलफल गर्दै अन्तिमरुप दिइने नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँडको आफ्नो खाका बैठकमा पेस गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ । बैठक आज बिहान ९ बजे बोलाइएको जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार