काठमाडौं, १४ चैत । नेकपा एकीकृत समाजवादी पार्टीका दुईजना नेताको राजीनामा स्वीकृत भएको छ ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकले उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुँडाममणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसैबिच, एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ ।सचिवालय बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको खतिवडाले बताए ।
खतिवडाले सिट बाँडफाँट टुंगो लागिनसकेकाले मन्त्रीहरुको नाम टुंगो नलागेको जानकारी दिए ।
एकीकृत समाजवादीले मिटरब्याजीविरुद्ध काठमाडौंमा भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै उनीहरुको माग तत्काल पुरा गर्न सरकारसँग माग गरेको छ ।


