सभापतिले आफू अनुकूल नाम सिफारिस गरेको भन्दै तालाबन्दी


जनकपुरधाम, १४ चैत । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ ।

गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा समानुपातिक सूचिमा रहेको नाम छनोट प्रक्रिया विधान सम्मत तरिकाले नगरिएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको हो ।

स्ववियु सभापति मनिषकुमार यादवले समानुपातिक सूचिमा रहेकाहरुको नाम आफू अनुकूल मनोमानी तरिकाले सिफारिस गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का सदस्य पदका समानुपातिक उम्मेदवारहरुले तालाबन्दी गरेका छन् ।

सदस्यतर्फ नेविसंघले चारवटा समानुपातिक सिट पाएकोमा सभापति यादव र नेविसंघका अन्य केही व्यक्तिहरुले १ नम्बरमा नाम रहेको राजेशकुमार कर्ण, ४ नम्बरमा नाम रहेको उमेशकुमार मण्डल, ८ नम्बरमा नाम रहेको मनिषाकुमारी यादव र ९ नम्बरमा नाम रहेको दिपेन्द्र राउतको नाम सिफारिस गरेको सदस्य पदका उम्मेदवार सुशील अधिकारीले बताए ।

उनले आफ्नो नाम दुई नम्बरमा रहेपनि आफूलाई हटाएर त्यस ठाउँमा आफूलाई नेविसंघको नेता भन्ने पुष्पेन्द्र गोइतले आफ्नो साली मनिषाकुमारी यादवको नाम राख्न लगाएको आरोप लगाए ।

उनले ३ नम्बरमा नाम रहेको रञ्जना यादव, ५ नम्बरमा नाम रहेको युगान्धार बाबु साह, ६ नम्बरमा नाम रहेको दीपेन्द्र साह, ७ नम्बरमा नाम रहेको वाल्मिकी कुमार साह र १० नम्बरमा नाम रहेको राम नविन राय अमात्यको नाम हटाइएकोप्रति आफूहरुले विरोध जनाएको बताए ।

सभापति यादवलगायतकाले विधान नै नमानी, नियम उल्लंघन गरेर आफ्नो आसेपासेका चारजनाको नाम सिफारिस गरेको उनको आरोप छ ।यसैबिच, उनीहरुले निर्वाचन समिति प्रमुख रेमन्त मोरबैतालाई समानुपातिक नामावलीको नाम प्रकाशन नगर्न आग्रह गर्दै निवेदनसमेत बुझाएका छन् ।

निवेदनमा नेपाल बिद्यार्थी संघको समानुपातिक सूचिमा इकाई कमिटीमा विवाद देखिएकोले नेविसंघको केन्द्रीय कार्यसमितिको निर्णय नआउन्जेलसम्म नाम प्रकाशन नगर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार