मिटरब्याज पीडितहरु प्रदर्शनमा


काठमाडौं, १४ चैत । न्याय माग्दै काठमाडौं पुगेका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरिहेको छन् ।

उनीहरु सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी समेत गरिरहेका छन् । उनीहरुले तमसुक व्यस्था खारेज गर, मिटरब्याजीलाई कारबाही गर, हाम्रो जफत गरिएको सम्पत्ति फिर्ता गर, मिटरब्याजीविरुद्धको कानुन निर्माण गर लगायतका नारा लगाइरहेका छन् ।

यसैवीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितहरुलाई भेट्न टंगाल पुगेका छन् । उनले आफू पीडितहरुको साथमा रहेको समेत बताए ।

उनले सरकारले पीडितहरुको माग तुरुन्त समाधान गरेर समस्याको समाधान गर्नुपर्ने बताए । निवर्तमान गृहमन्त्री समेत रहेका सभापति लामिछानेले भने, ‘समर्थन र विरोध भन्दा पनि समाधानको पहल गर्न आएको हुँ ।’

उनले आफू गृहमन्त्री हुँदा मिटरब्याज पीडितहरुको समाधान गर्न पहल गरेको भन्दै अहिले पनि त्यो पहल जारी राख्ने बताए ।

न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आएका हुन् । सोमबार काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चभित्र प्रवेश गरेर बस्न खोज्दा काठमाडौं महानगरपालिकाले रोकेको थियो । रातभर खुला सडकमा रात बिताएका उनीहरु आज बिहानदेखि प्रदर्शन गरिहेका छन् ।

तर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न नपाइने भन्दै प्रहरीले टंगालमै उनीहरुलाई रोकेको अवस्था छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार