काठमाडौं, १४ चैत । अभिनेता सरोज खनालले नेपाली रंगमञ्चको स्थिति दयनीय रहेकाले सघाउन सरकारलाई पहलकदमी लिन आग्रह गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ६२ औं रंगमञ्च दिवस मनाइरहँदा रंगकर्मीलाई श्रमिकको दर्जा दिइयोस् भनेर आवाज उठाउनुपर्ने दुःखद स्थिति रहेको बताए ।
उनले भने, ‘आज पनि रंगमञ्चको स्थिति दयनीय नै छ । ६२ वर्षपछि पनि हामीलाई श्रमिकको दर्जा दिइयोस् भनेर आवाज उठाउनुपरेको छ,’ उनले अघि थप्दैँ भने, ‘सरकारले रंगमञ्चलाई वास्तै गरेन ।’
संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति तथा अभिनेत्री निशा शर्माले सरकारले रंगकर्मीलाई भवन निर्माण गरिदिनुपर्ने बताइन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली शिक्षा र संस्कृतिमा विदेश जाने सपना हुर्किएको भन्दै संस्कृतिकर्मीमा देशप्रेम हुनुपर्नेमा जोड दिए ।


