काठमाडौं, १३ चैत । नेकपा एमालेले आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ । वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ ।
चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा मुछिएपछि पद गुम्दा खाली भएको थियो भने तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि ति क्षेत्रहरु खाली भएका छन् ।
उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा एमालेले आफ्नै उम्मेदवार उठाउने र गठबन्धन नगर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
उनले भने, ‘हामी उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा एमालेकै उम्मेदवार उठाउँछौ, गठबन्धन गर्दैनौ ।’
उनले तीनवटै उपनिर्वाचनका लागि उम्मेदवार छान्न पार्टी कमिटीका तल्लो तहलाई निर्देशन दिइसकेको जनाए । चैत २० गते उम्मेदवारी दर्ताको समय तोकिएकाले १९ गतेभित्र टुङ्गो लगाउने गुरुङले बताए ।


