काठमाडौं, १० चैत । सरकारले मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न पहल थालेको छ ।
महोत्तरीको बर्दिबासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
पीडित किसानको समस्या समाधान गर्न गृह मन्त्रालयले कानुन बनाउनका निम्ति मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेको प्रेस संयोजक शर्माले बताए । सरकारले ३५० जना मिटरब्याजीलाई कारबाहीसमेत गरिसकेको छ ।
सोही निर्देशन बमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानुन बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध सरकारले मुद्दासमेत चलाइरहेको उल्लेख गरे ।
घर फर्किन आवश्यक सहयोग गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरू एउटा अभियानमा भएको र कानुन नबन्दासम्म नफर्कने बताएका छन् ।
किसानले सो अवसरमा काठमाडौंसम्मको यात्राका लागि आफूहरूलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न तथा सवारी साधनको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । प्रजिअ पाण्डेले किसानलाई कम्बलको व्यवस्था गरेका छन् ।


