काठमाडौं, ८ चैत । वैदेशिक रोजगार विभागका नायव सुब्बा प्रमोद पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको आधारमा नासु पाण्डेलाई पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घुस माग गरिरहेको निवेदनको आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
पक्राउ परेका पाण्डेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम कैद र विगो जरिवाना हुन मागदाबीसहित बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।


