काठमाडौं, ८ चैत । आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका लागि बुधबारदेखि आइतबारसम्म दल दर्ता गर्न सकिने भएको छ ।
बारा, चितवन र तनहुँको उपनिर्वाचनका लागि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपचुनावका लागि बुधबारदेखि दल दर्ताको आह्वान गरेको हो ।
चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपनिर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।चितवन–२, बारा–२ र तनहुँ–१ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।
सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अयोग्य रहेको आदेश गरेपछि चितवन–२ रिक्त भएको थियो ।
त्यस्तै, तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी निर्वाचन क्षेत्र पनि रिक्त भएका छन् ।


