जनकपुरधाम, ७ चैत । मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई जैविक प्रविधिको साना मलखाद उद्योग सञ्चालन गर्न प्रस्ताव आएको छ ।
प्रदेशका सबै १ हजार २७० वडाहरुमा जर्मनीको वेल्ट हङ्गर हाइल्फ नामक संस्थाको सहयोगमा जैविक प्रविधिबाट अर्गानिक मलखाद, कम्पोष्ट मल, झोल मल उत्पादन गर्न प्रस्ताव आएको हो ।
यस परियोजनामार्फत सबै वडाहरुमा जैविक प्रविधिको साना उद्योगहरु सञ्चालन हुने बताइएको छ ।
उद्योगबाट भएका उत्पादनले रासायनिक मललाई विस्थापन गर्ने र जमीनको उर्वराशक्ति बढ़ाउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले बताए ।
उनले यस परियोजनाको दातृ संस्थाले जमीन र यसमा प्रयोग हुने शेडबाहेक उद्योग सञ्चालनका लागि आवश्यक सम्पूर्ण सामान, मशीन र प्रविधि उपलब्ध गराउनुका साथै प्रशिक्षणसमेत दिने जानकारी दिए ।
मन्त्रालयले उद्योग सञ्चालनका लागि ईच्छुक व्यक्ति, समूह र संस्थालाई चैत २५ गतेभित्र सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।


