काठमाडौं, ७ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरुलाई जागिर खाने थलोको रुपमा विकास गर्न लागिएको आरोप लगाएका छन् ।
मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरुका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै यस्तो बताएका हुन् ।
उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरुले सोही अनुसार काम गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न सबै संवैधानिक आयोगहरुलाई आग्रह गरेका छन् ।
उनले संवैधानिक आयोगहरु अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्ष भित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए । उनले आयोगका लागि आवश्यक स्रोत, साधनको व्यवस्था गर्ने काममा कन्जुस्याइँ नगर्न सरकारको समेत ध्यानाकर्षण गराए ।


