काठमाडौँ, ७ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि ‘प्राइम मिनिस्टर थ्री नेसन्स कप’ फुटबल प्रतियोगिता बुधबार देखि हुने भएको छ ।
चैत मसान्तसम्म चल्ने फुटबल प्रतियोगितामा नेपाल, भुटान र लावसबीच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
दशरश रंगशालामा सिङ्गल राउन्ड रोविन आधारमा हुने प्रतियोगिताका लागि सहभागी हुन भुटान र लावसका खेलाडीको टोली नेपालमा छन् ।
प्रतियोगिताको लागि एन्फाले साधारण पारापिटतर्फ ५०० रुपैयाँ र भीआइपी पारापिटतर्फ १००० रुपैयाँ टिकट दर तोकेको छ । खेलका टिकटहरु खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरुबाट पनि किन्न सकिने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने राष्ट्रलाई ५,००० अमेरिकी डलर, द्वितीय पुरस्कार ३,००० अमेरिकी डलर, हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५०० अमेरिकी डलर गरि कुल ९,५०० अमेरिकी डलर पुरस्कार प्रदान गर्ने तय भएको एन्फाले जनाएको छ ।
प्रतियोगिताको अनुमानित बजेट एक करोड सतहत्तर लाख अठसट्ठी हजार चार सय असी रुपैयाँ रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।


