काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले छोटो समयमा प्रभावकारी काम गरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै उनले सरकारले छोटो समयमा अर्थतन्त्रको पुनरुत्थान, सुशासनको प्रत्याभूति, विकास निर्माणलाई तीव्रता दिन इमान्दारितापूर्वक क्रियाशील रहेको दाबी गरेका हुन् ।
संसद बैठकमा आफ्नो पक्षमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा उनले सेवाप्रवाहमा सरलीकरण, सामाजिक न्यायको प्रवर्द्धन र राष्ट्रिय हितको अभिवृद्धिका लागि सरकारको ध्यान केन्द्रित रहेको जिकिर गरे ।
संसदमा स्थायित्वको वाचाका बाबजुद सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने आफूलाई नलागेको बताउँदै उनले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका कारण विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।


