इक्वेडरमा ६.८ म्याग्नेच्युटको भूकम्प, १६ जनाको मृत्यु


एजेन्सी, ५ चैत । पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । त्यस्तै, भूकम्पमा ४ सयभन्दा बढी घाइते भएका छन् ।

संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ ।

इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन् भने भत्केका भवनका भग्नावशेषमा सवारी साधन पुरिएका छन् । केही सवारी साधन कुच्चिएका छन् ।

कम्पबाट भयभीत बासिन्दा सडकमा दौडिएका थिए । एल ओरो प्रान्तमा ११ जनाको मृत्यु भएको जनाइएको छ । भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एकजनाको घटनास्थलमा मृत्यु भएको छ ।

इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस शहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् ।

भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ । शनिबार मध्यान्ह गएको भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुस गरिएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार