विद्यार्थीलाई झोला दिएर मधेश सरकारको अनुभुती गराउँदै


जनकपुरधाम, ४ चैत । मधेश प्रदेश सरकारले प्रदेशभरिका विद्यार्थीलाई झोला वितरण गरेर मधेश प्रदेश सरकारको अनुभुती गराउँदैछ ।

शिक्षा विकास निर्देशनालयमार्फत आठवटै जिल्लाको सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत्त ८६ हजार ५२३ विद्यार्थीलाई झोलामा एउटा ज्योमेट्रीबक्स राखेर वितरण गरिरहेको हो ।

मधेश प्रदेशको नामाकरण भएपछि आठवटै जिल्लाको गल्लीगल्ली घरघरमा ‘मधेश प्रदेश’ नामको प्रचारप्रसारको माध्यमबाट मधेश सरकारको अनुभूति तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले झोला वितरण गरिरहेको निर्देशनालयका निर्देशक चुडामणि फुयालले जानकारी दिए ।

यसका लागि चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गत फागुन २८ गतेबाट सुरु भएको झोला वितरण गर्ने काम हालसम्म सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही गरी पाँचवटा जिल्लाको ४६१ विद्यालयको ५६ हजार १६६ विद्यार्थीलाई झोला वितरण गरिसकेको समेत उनले बताए ।

निर्देशक फुयालले सप्तरीका ८६ विद्यालयमा ९ हजार ९८१ वटा, सिरहाका ८७ विद्यालयमा १० हजार ८००, धनुषाका ९४ विद्यालयमा ११ हजार ९८३, महोत्तरीका ९७ विद्यालयमा ११ हजार ७६ वटा र सर्लाहीका ९७ विद्यालयका १२ हजार ३८९ वटा झोला वितरण गरिएको बताए ।
चालु आर्थिक वर्षको ६ करोड बजेटबाट बोलपत्र मार्फत निर्देशनालयले न्यूँ आननन्द डिजाइनर कम्पनीबाट ज्योमेट्रीबक्सहितको ८६ हजार ५२३ झोला ५ करोड ८ लाख ७५ हजार ५२४ मा खरिद गरेको छ ।

ज्योमेट्रीबक्ससहित प्रति झोला ५८८ रुपैयाँ खरिद मूल्य परेको जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार