काठमाडौँ, ४ चैत । ‘ज्याकीः आई एम ट्वान्टी वान’ वैशाखको २१ गतेबाट रिलिज हुने भएको छ ।
निर्माण पक्षले फिल्मको पहिलो गीत पनि सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘कथा’ बोलको गीत सार्वजनिक गरेको हो । कार्यक्रममा फिल्मका मुख्य कलाकारद्धय धिरज मगर र जसिता गुरुङले गीतमा नृत्य समेत गरेका थिए । गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द, रोहित शाक्य र किरण थापाको संगीत रहेको छ ।
सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको फिल्मलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन् । फिल्मलाई डान्स ड्रामा भनिएको छ । आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबरा हुन् । फिल्ममा रोहितको साथमा स्वप्निल शर्मा र कालिप्रसाद बास्कोटाको संगीत छ ।
कार्यक्रममा बोल्दै नायक धिरजले आफ्नो लागि ‘ज्याकीः आई एम ट्वान्टी वान’ करिअरकै विशेष फिल्म भएको बताए । अभिनेत्री जसिताले एउटा फिल्मका लागि ३ वर्ष समय दिएको र फिल्ममा गरेको मिहिनेत सम्झँदा खुसी लाग्ने बताइन् ।
निर्देशक रेनशाले गाह्रो काममा नै आफूलाई हात हाल्न मन लाग्ने भन्दै ‘ज्याकीः आई एम ट्वान्टी वान’ निर्माण गर्नु चुनौतीको विषय भएको बताइन् । तर, फिल्मको विषयमा आफूले सधैं फरक सोच्ने भएकाले डान्सको कथा जन्मिएको उनले बताए ।


