एजेन्सी, ३ चैत । बलिउड अभिनेता अजय देवगनकी छोरी न्यासा देवगन सधैँ आफ्नो मेकअप, कपडाका कारण चर्चामा रहन्छिन् तर सामाजिक सञ्जालमा उनी कयौँ पटक ट्रोल हुने गर्छिन् ।
यसैबीच भोला फिल्मको प्रमोसनका क्रममा अजय देवगनलाई एक अन्तरवार्तामा छोरीलाई गरिने ट्रोलिङबारे प्रश्न सोध्दा उनले आफु यस बारेमा निकै चिन्तित रहेको बताएका छन् ।
हालैको यो अन्तरवार्तामा अजयले भने, ‘म आफ्ना दुवै बच्चालाई अनलाइन लेखिएका कुरासँग चिन्तित नहुन सल्लाह दिन्छु । तपाईँहरूका प्रशंसक र दर्शकको तुलनामा तपाईँलाई ट्रोल गर्नेहरूको सङ्ख्या निकै कम छ भनेर सम्झाउँछु । मैले त यसलाई बेवास्ता गर्न सिकिसकेको छु । मैले आफ्ना बच्चाहरूलाई पनि यस्तै गर्न भन्ने गर्छु ।’
उनले ‘मानिसहरूको नजर सधैँ मेरा बच्चाहरूमा हुन्छ र यस कारण मलाई धेरै चिन्ता लाग्छ । म यस्ता कुरालाई फेर्न सक्दिनँ न नै अनलाइन ट्रोलिङ रोक्न सक्छु । तपाईँलाई साँच्चै नै के गर्ने भन्नेबारे थाहा हुँदैन । किनभने कति पटक त यस्ता कुरा लेखिन्छ जुन साँचो हुँदैनन् । तर मैले कुनै जवाफ दिएँ भने कुरा अझै बढ्छ’ भने ।
अजय देवगनको फिल्म ‘भोला’ साउथको चर्चित फिल्म क्याथीको हिन्दी रिमेक हो । उक्त फिल्म ३० मार्चमा रिलिज हुनेछ ।


