काठमाडौं, २ चैत । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ । डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बिहीबारदेखि नयाँ मूल्यअंकित प्याकेट दूध बजारमा पठाइएको जानकारी दिएका हुन् ।
महाप्रबन्धक झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्ताका लागि निर्धारण गरिएको जानकारी दिए ।
दूधको मूल्य १६ रुपैयाँसम्म बढेको छ । संस्थानकाअनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेको छ । प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा बिहीबारदेखि बढेर ९७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ । गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ ।
चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ ।



