महोत्तरी, २ चैत । नेपाल–भारतको सिमावर्ती क्षेत्रमा भारतीय प्रहरीले नेपाली यूवालाई कुटपीट गरेको भन्दै प्रदर्शन गरेको छ ।
महोत्तरीको सम्सी नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का एक जवानले नेपाली युवकलाई कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । सम्सी गाउँपालिका वडा नम्बर ७ का सन्तोकुमार साहलाई एसएसबीले कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शनमा उत्रिएका थिए ।
नेपाली सीमा क्षेत्रबाट भारत प्रवेश गर्न खोज्दा एसएसबीले नेपाली नागरिकताको प्रमाणपत्र खोजेको विषयमा विवाद भएको थियो भने बुधबार साँझ तर्फ साहलाई एसएसबीले कुटपिट गरेको स्थानीयहरु बतउँछन् ।
नेपाल तर्फको बाटो खराब रहेका कारण दशगजा क्षेत्रका नेपालीहरु भारतीय सडक हुँदै आवतजावत गर्ने गर्दछन् ।
एसएसबीका जवानले बुधबार साहलाई दुर्व्यवहार र कुटपिट गरेको भन्दै सीमा क्षेत्रका नेपालीहरुले सम्सी नाकामा साँझ विरोध प्रदर्शन गरेका थिए । सशस्त्र प्रहरी गणका अधिकृतले यो विषयमा दुवै पक्ष बसेर छलफल गर्ने भनेपछि स्थानीयहरु फिर्ता भएका थिए ।
सशस्त्र प्रहरी गण सम्सीका प्रहरी निरीक्षक जयराम बस्नेतले यस विषयमा दुवै पक्षबीच छलफल हुने जानकारी दिए । पटक–पटक भारतीय एसएसबीका जवानबाट कुटपिट र दुर्व्यवहारको घटना हुने गरेको स्थानीयको गुनासो रहेकाले यस विषयमा दुई देशको सुरक्षा बैठकमा समेत छलफल गरिने उनले बताए ।


