फेरि ठेलागाडामा बदाम बेच्दै ‘काचा बदाम’ गायक


एजेन्सी, २ चैत । टिकटकमा भाइरल भएको गीत ‘काचा बदाम’ का गायक भुवन बाड्याकर रातारात संगीत स्टार बनेपनि यतिबेला उनी फेरिपनि बदाम बेच्न थालेका छन् ।

‘काचा बदाम’ हिट हुनुअघि ठेलागाडामा बदाम बेचेर गुजारा गर्ने भुवन कपीराइट लगायतको विवादले पुनः पुरानै अवस्थामा फर्किएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले अहिले ठेलामै पुनः बदाम बेच्न थालेका छन् । भारतको पूर्वी बंगालको वीरभूम जिल्लाको दु्रबाजपुरका बासिन्दा हुन् । उनी टिकटककै कारण हिट भएका थिए ।

सन् २०२२ को फेब्रुअरी ५ मा उनले टिकटकमा पोस्ट गरेको उक्त गीत टिकटकसहित फेसबुक र इन्स्टाग्राममा पनि हिट भयो । उनलाई कार्यक्रममा गीत गाउन निम्तो गरियो भने उनले मनग्य पैसा पनि कमाए । देश, विदेशबाट उनले राम्रो पैसा पनि कमाए । तर उनले भूलवश सो गीतको कपीराइट अधिकार बिक्री गररेपछि उनको खराब दिनको सुरुवात भएको हो ।

गोधुली बेला म्युजिक युट्युब च्यानलका गोपाल घोषले भुवनलाई फकाएर कागजमा हस्ताक्षर गराउन सफल भएपछि उनको ओरालो त्यहीबाट सुरु भयो । नयाँ गीतको अफर आएको भन्दै भुवनलाई कागजमा साइन गर्न लगाए । जसअनुसार नयाँ गीतबाट आएको ६० प्रतिशत कमाइ भुवन र ४० प्रतिशत युट्युबले राख्ने भनेर उनले फकाएका थिए ।

त्यतिबेला ३ लाख भारतीय रुपैयाँमा साइनिङ अमाउन्ट पनि भुवनले पाएका थिए । बाँकी पैसा पछि दिइने सर्त राखियो तर कागजमा चाहिं कपीराइट बिक्री भएको व्यहोरा उल्लेख भयो । भुवनले आफूले अंग्रेजी नबुझेकाले झुक्याएर हस्ताक्षर गर्न लगाइएको बताउँदै आएका छन् । यो घटनापछि भुवनलाई कार्यक्रमबाट निम्तो पनि आउन छाड्यो भने भिडियो राख्नेलाई कपीराइट पनि लाग्न थाल्यो ।

अहिले यो घटनापछि उनी पुनः गाउँमै फर्किएर ठेलागाडामा बदाम बेच्दै छन् । उनले स्थानीय प्रहरीमा उजुरी दिएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार