यूएईसँग पीएनजी ६ विकेटले पराजित


काठमाडौं, १ चैत । कप्तान मोहम्मद वासिमको कीर्तिमानी शतकको सहयोगमा यूएईले आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले पराजित गरेको छ ।

पीएनजीले दिएको २३५ रनको विजयी लक्ष्य यूएईले ४ विकेट गुमाएर ३८.४ ओभरमै पूरा गरेको हो ।

यूएईको जितमा कप्तान वासिमले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक प्रहार गरे । ४ चौका र ११ छक्कासहित उनले ६० बलमा शतक बनाएका छन् । आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरेका उनले ७६ बल खेल्दै १२ छक्का र ६ चौकासहित ११९ रन बनाए ।

६० बलमै शतक हानेका उनी युएईबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडीसमेत हुन् । यसअघि वृत्य अरविन्दले ६९ बलमा नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए ।

यस्तै वृत्य अरविन्दले ३३ रन बनाउँदा सिपी रिजवानले नटआउट २९ रन बनाए । यस्तै आयन अफजाल खानले २७ रन बनाउदा आशिफ खान ११ रनमा अभिजित रहे ।

पिएनजीका रिले हेकुरेले २ तथा काबुआ मोरेआ र जोन कारिकोले १–१ विकेट हात पारे । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो ।

उसका लागि कप्तान असाद भालाले सर्वाधिक ६५ रन बनाए । यस्तै नर्मन भानुवाले बिस्फोटक ब्याटिङ गर्दै ३१ बलमा १ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहे । हेकुरे २२ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा रन आउट रहे ।

युएईका लागि तीव्र गतिका बलर हजरत बिलालले सर्वाधिक ४ विकेट लिए । रोहन मुस्तफा र जवार फरिदले एक एक विकेट हात पारे । योसँगै पिएनजीले लिग–२ का सबै ३६ खेल सकाएको छ । ५ जितसहित ११ अंक जोडेको पिएनजी अंक तालिकाको पुछारमा रहेको लिग अत्य गरेको हो ।

यता आफ्नो १५ औं जित निकालेको यूएईले ३३ अंक जोडेको छ । अब लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईले नेपालको सामना गर्नेछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार