प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने


काठमाडौं, १ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्रै नेपाली कांग्रेस सरकारमा सहभागी हुने तयारी गरेको छ ।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्र सहभागी हुनेबारे छलफलसमेत भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार प्रधानमन्त्री दाहालले चैत ८ गतेभन्दा पहिले नै विश्वासको मत लिने तयारी गरेका छन् ।

गत पुस १० मा प्रधानमन्त्री नियुक्त हुँदा प्रचण्डलाई समर्थन गरेकामध्ये नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएका थिए । ती दलहरूले समर्थन फिर्ता लिएकोले प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिन लागेका हुन् ।

यसअघि दाहालले गत २६ पुसमा विश्वासको मत लिँदा नेपाली कांग्रेसलगायत अधिकांश दलले विश्वासको मत दिएका थिए । त्यसबेला राष्ट्रिय जनमोर्चा र नेमकिपाले मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थिएन ।

कांग्रेसले अहिले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सरकारले निरन्तरता पाउने र गठबन्धनका अरू दलहरू यो सरकारमा सामेल हुने बताइरहेको छ ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले चुनावकै बेलाको गठबन्धनलाई पुनः लयमा ल्याइएको र पौडेललाई राष्ट्रपति बनाउन सफल भइएकोबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार