जनकपुरधाम, ३० फागुन ।
कुनै समयमा जनकपुरधाम स्थित रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसलाई शैक्षिक हबकै रुपमा रहेको थियो । यस क्याम्पसमा धनुषा र महोत्तरीका मात्र नभई सर्लाही, सिन्धुली, रौतहट, रामेछाप, सिरहा, सप्तरी ओखलढुंगा लगायतका जिल्लाका विद्यार्थीहरू अध्ययन गर्नका लागि आउने गर्थे । जनकपुरधामको यो क्याम्पस देशकै जेठो क्याम्पसहरु मध्येको एक क्याम्पस हो । तर ७ दशक लामो ईतिहास बोकेको यो क्याम्पस सरकारको निति तथा क्याम्पसकै प्राध्यापकहरुको रबैयाका कारण धाराशायी हुँदै गई रहेको छ ।
मुलककै चर्चित डाक्टर, इन्जिनियर दिनुका साथै सफल प्रशासक तथा राजनीतिज्ञ दिने राराव क्याम्पसको यो हविगत देखेर स्थानीयहरु दुःखी छन् । पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, पूर्वमन्त्री महेन्द्र यादव, रामकृष्ण यादव युवराज खाती, प्रदेशसभा सदस्य रामसरोज यादव लगायतका नेताहरू राराब क्याम्पसकै उत्पादन हुन् । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर त यस क्याम्पसमा प्राध्यापकको रुपमा काम नै गरे । यस अतिरिक्त कयौँ उदाहरणीय नामहरु समेत छन् यी प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् ।
प्राध्यापकहरूको समर्पण, मिहिनेत र पढाइप्रति विद्यार्थीहरूको लगनशीलताले साख कमाउन सफल भएको राराब क्याम्पसको अहिले साख नै गुमेको छ । सरकारको गलत नीतिकै कारण देशैभर नाम कमाएको राराब क्याम्पस ‘क’ श्रेणीको क्याम्पस अहिले ‘ग’ श्रेणीमा झरिसकेको प्राध्यापकहरु बताउँछन् ।

यद्यपि क्याम्पस प्रमुख प्रदीपकुमार प्रसाद भने राराब क्याम्पसको साख गुमेको स्वीकार गर्दैनन् । तर त्रीभुवन विश्वविद्यालयकाम आंगिक क्याम्पसहरुको अवस्था खस्किएको स्वीकार गरे । द्यालयका आंगिक साहले सरकारले शिक्षालाई पनि निजिकरण गर्ने निर्णय आफ्नै खुट्टामा बञ्चरो हान्ने सरह साबित भएको बताए ।
सरकारले ल्याएको नयाँ शिक्षा नीतिले क्याम्पसको साख गुम्दै गईरहेको, क्याम्पस प्रमुख साहले भने‘क्यामपसको अवस्था धाराशायी हुनुमा विभिन्न कारणहरु छन् जसको प्रमुख कारण सरकार नै हो ।’ उनका अनुसार टियुबाट प्रविणता पत्र तह हटाइनुले पनि टियुका सम्पूर्ण क्याम्पसहरुको हविगत यस्तै रहेको छ । राराब क्याम्पस सहित अन्य आंगिक क्याम्पसहरुको दुरावस्थामा सरकार र त्रिभुवन विश्वविद्यालय नै प्रमुख दोषी रहेको क्याम्पस प्रमुख प्रदीपले आरोप लगाए । उनले भने ‘त्रिविले पढाउने संकायहरुको इजाजत आंगिक क्याम्पस बाहेक अन्य निजी कलेज÷क्याम्पसहरुलाई समेत दिएकाले विद्यार्थीहरुको संख्यामा कमी आएको छ, निजी क्याम्पसमै राम्रो पढाई हुन्छ भन्ने सोचका साथ विद्यार्थीहरुको संख्या आंगिक क्याम्पसहरुमा घट्दै गईरहेको छ ।’
प्राध्यापकहरु सरकारी नीतिलाई दोषी ठहराई रहँदा पूर्व प्राध्यापाक नवेन्द्र निधि प्राध्यापकहरुकै रबैयाका कारण यस्तो हविगत आएको बताउँछन् । ‘राराबका स्थायी प्राध्यापकहरूले आफ्नै निजी क्याम्पस सञ्चालन गरेका छन्, कागजी रुपमा नदेखिएपनि लगानी गरेका छन्,’ निधिले भने,’आफ्नै लगानी भएपछि मोह पलाउनु स्वभाविकै हो । तर यस्तै मोहका कारण राराबको साख खस्किदैछ ।’
प्राध्यापकहरूले निजी कलेजमा पढाउनुपूर्व त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । क्याम्पसमा कक्षा रहेको समयमा प्राध्यापकहरू निजी शैक्षिक संस्थामा पढाउन पाउँदैनन् । र, सोहि अनुसार उनीहरूले त्रिविबाट स्वीकृति पनि लिएका छन् । तर कार्यान्वयन भने हुन सकेको छैन् । राराबमा कक्षा लिनुपर्ने समयमा कतिपय प्राध्यापकहरू निजी शैक्षिक संस्थामा पढाइरहेका हुन्छन् । यसबारे राराबका प्रमुखपनि अनभिज्ञ भने छैनन् । तर क्याम्पस प्रमुख प्रदीप ती प्राध्यापकहरुको बचाउ गर्दै भने ‘त्रिविले नै उनीहरुलाई पढाउन ईजाजत दिएको छ, ईजाजत लिएर नै उनीहरु निजि क्याम्पसहरुमा पढाई रहेका छन् ।’
लगभग ७ हजार विद्यार्थी अध्ययनरत रहेको राराव क्याम्पसको पूरानो गरिमा फर्काउनका लागि प्राध्यापकहरुदेखि विद्यार्थीहरुले समेत यो जिम्मेबारी आफ्नो काँधमा लिनुपर्ने स्नातक तहमा अध्ययनरत अनु साहले बताइन् । यता विद्यार्थीहरू कक्षा लिन नआउँदा पढाइको गुणस्तर खस्केको कतिपय प्राध्यापकहरूको गुनासो समेत छ ।
स्ववियु निर्वाचनले क्याम्पसमा बढाएको चहल पहल
राराब क्याम्पसमा कुनै समय १५ हजार बढी विद्यार्थीहरु अध्ययनरत हुन्थे । तर अहिले त्यो संख्या ७ हजारमा झरेको छ । ७ हजार विद्यार्थीहरुमध्ये मुश्किलले २ हजार विद्यार्थी मात्रै दैनिक कक्षा लिन पुग्छन् । अन्य दिनमा खाली खाली हुने सो क्याम्पसमा अहिले स्ववियु निर्वाचनले चहल पहल बढाएको छ ।
१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनले गर्दा राराब क्याम्पसमा विद्यार्थीहरुको आवागमन बढन थालेको छ । डेढ दशकअघिसम्म नेपालकै प्रमुख क्याम्पसको रुपमा चर्चा बटुलेका राराब क्याम्पस एक दशक यतादेखि पढाई भन्दा पनि परिक्षा दिएर डिग्री लिने थलोको रुपमा परिचित छ । तर दुई÷तीन वर्षदेखि प्राविधिक शिक्षा अवलम्बन गर्न थालेपछि विद्यार्थीको संख्या दोब्बरले वृद्धि भएको छ । प्राविधिक शिक्षाले विद्यार्थीको संख्यामा ह्वात्तै वृद्धि भएपनि प्राविधिक शिक्षा बाहेक परम्परागत शिक्षा संकायमा विद्यार्थी हेर्न भने मुश्किल छ ।

अहिले क्याम्पस भरिभराउ हुनुको कारण कक्षा होइन स्ववियु निर्वाचन नै हो । विद्यार्थीहरु कक्षा कोठा छोडेर क्याम्पस परिसरमा चुनावी तयारीमा नै व्यस्त देखिन्छन् । स्ववियुमा नेतृत्वका लागि उम्मेदवार बनेका विद्यार्थी नेताहरु क्याम्पस परिसरमा विद्यार्थीहरुलाई जम्मा गरेर मतदानका लागि सम्झाई बुझाई गरेको दृश्य सहजै देख्न सकिन्छ ।
विद्यार्थी नेताहरु डेढ दशक सम्म स्ववियु नेतृत्व विहिन बनेकाले क्याम्पस प्रशासनले गर्दै आएको मनोमानीका कारण क्याम्पसहरुको अवस्था दयनीय हुन गएको आरोप लगाए । स्ववियु सभापतीमा उम्मेदवारी दिएका नेविसंघका मनिष कुमार यादव र जनमत विद्यार्थी संघका मो. ईजाज मोमिनले क्याम्पस प्रशासनको मनपर्दीले क्याम्पसहरुको अवस्था दयनीय भएको बताए ।
स्ववियु निर्वाचनमा सभापतिका दलिय उम्मेदवारहरु स्ववियु निर्वाचनपछि क्याम्पसको दुरावस्थामा सुधार ल्याउन पहल गर्नुलाई आफ्नो चुनावी एजेण्डा नै बनाएका छन् । लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त कुमार झाले स्ववियुले नेतृत्व पाएपछि राराब क्याम्पसको शैक्षिक गतिविधिमा सुधार आउने दावी गरे ।
जनकपुरधामका समाजसेवी रामस्वरुप साह र रामसागर साहले ६९ विग्घा जग्गा दान गरेर स्थापना गरिदिएको सो क्याम्पसले जनकपुरधाम र धनुषालाई मात्र नभई नेपालकै दजर्नौ जिल्लालाई कुनै समयमा साक्षर बनाउँदै आएको थियो । तर अहिले संरक्षणको अभावमा क्याम्पस नै धाराशायी हुने अवस्थामा पुगेको छ ।



