रोड रेस र बक्सिङ चैत ११ मा हुने


काठमाडौँ, ३० फागुन । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा दुई वटा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

सो कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको संयोजक सन्जीव तुलाधरले जानकारी गराए ।

रोड रेसमा पुरुष–महिलाको १० किलोमिटर दौड हुनेछ छ भने दुवै समूहमा शीर्ष ५ स्थान हात पार्ने पुरुष–महिला खेलाडीले क्रमशः ६० हजार, ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने उनले बताए ।

कोर्ष रेकर्ड तोड्ने खेलाडीलाई थप १० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । आयोजकका अनुसार करिब ४ सय खेलाडी सहभागी हुने रेसका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने जनाएको छ ।

रेसका लागि राजन खत्रीलाई संयोजकको जिम्मेवारी दिइएको छ । रेस दरबारमार्गबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ । बक्सिङमा सातै प्रदेश र ३ विभागीय टोलीका करिब १ सय ४० खेलाडी सहभागी हुने जनाइएको छ ।

पुरुष–महिलामा समान ६–६ गरी १२ स्पर्धामा खेल हुनेछ भने प्रत्येक स्पर्धामा पहिलो हुनेलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट पुरुष–महिला खेलाडीलाई पनि पुरस्कृत गरिने योजना रहेको छ ।

बक्सिङको अनुमानित बजेट ४५ लाख रुपैयाँ रहेको छ भने खेलहरु बसन्तपुर डबलीमा हुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार