बचतकर्ताको रकम ठगी गरेको आरोपमा सहकारीका सञ्चालक पक्राउ


विराटनगर, २९ फागुन । बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका तीनजना सञ्चालक पक्राउ परेका छन् ।

उनीहरुलाई बचतकर्ताको १२ करोड ९ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका–१४ का सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–२ का मन्दीप खवासलाई सार्वजनिक गरेको छ ।

सञ्चालकहरु बचतकर्ताको रकम फिर्ता नगरी फागुन १ गतेदेखि सम्पर्कविहीन भएका थिए । फरार सञ्चालकविरुद्ध सहकारीका १२१ जना बचतकर्ताले फागुन २८ मा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी थिए । सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

मुख्य कार्यालय विराटनगर रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा गरी तीन वटा सेवा केन्द्रमा गरी २१ हजार ७१३ सदस्यमध्ये विराटनगरमा मात्र चार हजार रहेका छन् ।

सहकारीले सबै सेवा केन्द्रमा गरी करिब १ अर्ब ५० करोड रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ । संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित पाँचजना अझै फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार